इटहरी । सरकारले देशभर लकडाउन खुकुलो पारे पनि होटल तथा पर्यटन व्यवसाय खोल्न अनुमति नदिएपछि होटल व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन् । लामो समयको लकडाउन खुकुलो भए पनि होटल व्यवसाय खुल्न नसकेको भन्दै होटल व्यवसायीहरूले आपत्ति जनाएका हुन् ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहल–पहल केही बढेको छ । तर, लकडाउन खुकुलो हुँदा पनि होटल व्यवसाय भने ठप्प छ । होटल तथा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेकाहरूले भने आफूहरूको कन्तविजोक भएको भन्दै होटल व्यवसायलाई पनि सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।

मङ्गलबार जिल्ला होटल तथा पर्यटन व्यवसायी सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी कार्यालयहरूमा होटल व्यवसाय खोल्न पाऊँ भन्दै ज्ञापन–पत्र बुझाएका छन् । ‘बैङ्कको ब्याज घरभाडा र कर्मचारीलाई तलब दिन सक्ने अवस्था नभएको कारण निश्चित मापदण्ड पूरा गरेर होटल खोल्न भनी ज्ञापन–पत्र बुझाएका छौं’–जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले भने ।

अध्यक्ष पुरीले भने, ‘हामी त बर्बाद हुन लाग्यौं, महिनौंदेखि लकडाउन लम्बिने गरेको छ फेरि अरू एक साता थपिदिएको छ । महँगो घरभाडा र बैङ्कको ब्याज तिर्न आफूहरू नसक्ने अवस्थामा रहेको भन्दै अन्य व्यवसायजस्तै होटल व्यवसाय पनि निश्चित स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न दिनुका साथै करमा समेत छुट दिनु पर्छ ।’

धरान र इटहरीका होटल व्यवसायी सङ्घका पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पुगेर कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्ने होटल व्यवसाय चौपट भएको गुनासो गरे । धरान होटल व्यवसायी सङ्घका अध्यक्ष सरोज भट्टराईले होटल व्यवसायीहरू अन्य व्यवसायीभन्दा धैरै मारमा परेको कारण होटल व्यवसाय खोल्न पाउनुपर्ने माग राखे । होटलसँगै पर्यटन क्षेत्र धरासायी भएको भट्टराईको भनाइ थियो ।

होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले सयांै होटल व्यवसायीहरू पीडित हुँदै गएको बताए । सबै व्यवसाय खोल्न पाउँदा होटल व्यवसायीहरूलाई मात्र लगाइएको कडा नियम फुकुवा हुनुपर्ने उनको भनाइ छ । ‘होटल तथा रेष्टुरेण्टमा मात्र कोरोना लाग्ने हो र ?’–अध्यक्ष पराजुलीको प्रश्न थियो । उनले थपे, ‘हामी निश्चित मापदण्ड पालना गरेर होटल खोल्छौं भन्दा पाउनुप¥यो नि ।’ होटलका नाममा रहेको बैङ्कको ब्याज छुट गरिनु पर्नेसमेत अध्यक्ष पराजुलीको भनाइ छ ।