श्रम ऐनले तोकेअनुसारको सेवा सुविधा माग्दा मोरङको बुढीगंगा गाउँपालिका –३ मा रहेको हुलास वायर इण्डष्ट्रिज प्रालिले ९३ जना श्रमिकलाई निकालेको छ ।
वर्षौदेखि काम गर्दै आएका श्रमिक निकालिएपछि हुवाल वायर अगाडि मजदुरहरू बुधबार आन्दोलित भएका हुन् ।
राज्यले तोकिदिएको श्रम ऐनअनुसारको सेवा सुविधा माग गर्दा मंगलबार हुलासले उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना श्रमिक कटौती गरेको थियो ।
निकालिएका श्रमिकलाई पुनः बहाली गरिनुपर्ने र श्रम ऐनअनुसार राज्यले तोकेको सेवा सुविधा दिनुपर्ने माग राख्दै श्रमिक आन्दोलित भएका हुन् । बुधबार बिहान काम गर्न जाँदा कटौतीमा परेका एल्बे, ची.आई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरुलाई भित्र प्रवेश गर्न दिइएन । काम गर्न गएका श्रमिकलाई गेटमा रोकेपछि उनीहरू आन्दोलित बने ।

अन्दोलित भएपछि श्रमिकहरूको मजदुर संगठन र उद्योगबीच बुधबार भएको वार्ता पनि विना निश्कर्ष टुंगिएको छ ।
‘उद्योगले निकालेका श्रमिकलाई पुनःबहाली गरिनुपर्ने र राज्यले तोकेको सेवा सुविधा दिनुपर्ने श्रमिकको माग थियो,’ हुलास वायर इण्डष्ट्रिजमा कार्यरत मजदुर सूर्यकुमार गिरीले भने, ‘हाम्रो माग उद्योगले सुनवाइ गर्न चाहेन, त्यही भएर वार्ता बिना निश्कर्ष टुंगियो ।’
निकालिएका श्रमिकलाई पुनःबहाली र राज्यले तोकेको सेवा सुविधा नदिएसम्म यहाँका श्रमिक आन्दोलित हुने उनले बताए ।
‘६ महिना काम गरेपछि नियुक्ति–पत्र र न्युनत्तम पारिश्रमिक लगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम छ,’ उनले भने, ‘तर, १० वर्षदेखि कार्यरत मजदुरलाई उद्योगले सरकारी मापदण्ड बमोजिमको सेवा सुविधा समेत दिएको छैन, अधिकांशले अझै पनि दैनिक ज्यालादरीमा काम गरिरहेका छन् ।’
वार्तामा उद्योगले विचार गर्नका लागि श्रमिकहरुसँग २ दिनको समय माग गरेको छ । यसअघि पनि उद्योगले यसरी समय माग्ने तर, श्रमिकको मागलाई बेवास्ता गर्दै अगाडि बढ्ने परिपाटी रहेको श्रमिकहरू बताउँछन् ।
‘हामीले काम गरेको वर्षौ भइसक्यो । अहिलेसम्म उद्योगले नियुक्ति–पत्र दिएको छैन । श्रम ऐनले तोकेअनुसार सेवा सुविधा पाइएको छैन,’ उद्योगमा कार्यरत एक श्रमिककले भने, ‘राज्यले तोकेको सेवा सुविधा माग्दा उद्योगका मालिकले कामबाट निकाल्ने धम्की दिने गरेका छन्, त्यही भएर आफ्नो परिवार पाल्न भए पनि चुपचाप काम गर्नुपर्ने अवस्था छ ।’
श्रमिक निकालको विषयमा संवाददाताले कुरा बुझ्न खोज्दा उद्योगका जेनरल म्यानेजर मुकेश कोठारी सम्पर्कमा आउन चाहेनन् ।