विराटनगर । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवहरि भण्डारीसहित तीन जना कर्मचारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
भन्सार प्रमुख भण्डारीसहित कर्मचारीहरूको मिलेमतोमा संस्थागत रूपमा राज्यको लाखौं रुपैयाँ छली हुने गरेको भन्दै अख्तियारमा ५ साउनमा उजुरी परेको हो ।
अख्तियारमा परेको बेनामी उजुरीमा भन्सार प्रमुख भण्डारी, अधिकृत निर्माण भण्डारी र सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाको मिलेमतोमा भन्सार छली भई भ्रष्टाचार गरी अवैध जाँचपास हुने गरेको भन्दै उजुरी दिएको पत्र ब्लाष्ट टाइम्सले फेला पारेको छ ।
भन्सारका कर्मचारीहरूले संस्थागत रूपमा व्यापक रूपमा राज्यको लाखौं रुपैयाँ राजस्व छली गर्नुको साथै भ्रष्टाचार गरेको हुनाले अनुसन्धानको माग राख्दै अख्तियारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग काठमाडौं, अख्तियार इटहरी र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा पनि बोधार्थ दिएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले उजुरी परेको खण्डमा तथ्य प्रमाण हेरेर आयोगले अनुसन्धान थाल्ने बताए । ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेको हकमा आयोगको क्षेत्राधिकारभित्र पर्दछ’ उनले भने, ‘उजुरी आएको खण्डमा अख्तियारले घटनाको छानबिन र अनुसन्धान सुरु गर्नेछ ।’