नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले युवा पलायन रोक्ने नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।
समितिका संयोजक सांसद विनोद चौधरी तथा सहसंयोजक अनिल रूंगटालगायत पदाधिकारीले अर्थमन्त्री शर्मासँग भेट गर्दै लोडसेडिङ निवारणमा जस्तै उदाहरणीय काम गर्न शुभकामना दिए ।
उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्ने गरि नीति ल्याउन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको हो ।
अर्थमन्त्रीसमक्ष पेस गरिएको सुझावमा समितिले बैंक तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दीगो बैंकिङमार्फत् यस्ता सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दीगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु वाञ्छनीय हुने उल्लेख गरेको छ ।

मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत् प्रत्येकबाट कम्तीमा १० ओटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सके ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव दिएको छ । एउटा उद्यममा न्यूनतम ३ जनामात्र रोजगार भएको खण्डमा पनि वाषिर्क झण्डै २ लाख रोजगारी सिर्जना हुने समितको निष्कर्ष छ ।
अर्थमन्त्री शर्मासँगको भेटमा समितिका संयोजक चौधरीले विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।