नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले आजबाट अन्त्य गरेको बताएका छन् । यस अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवादसमेत दिएका छन् ।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छ । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,” उनले ट्विटरमा लेखेका छन्, “२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु ।”
उनले क्रिकेटरका रूपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफूले भूमिका निर्वाह गरेको बताएका छन् ।