बिर्तामोड। बैंकिङ कसुर मुद्दमा फरार रहेका एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगरको इलाम इजलासले कैद तथा जरिवाना फैसला गरेका बिर्तामोड नगरपालिका–९ की गायत्री भंगडलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७६ पुषमा भंगडबिरुद्ध अदालतले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै ११ दिन कैद र ८ लाख जरिवाना असुल गर्न फैसला गरेको थियो । सोही समयमा पक्राउ परेकी भंगडले ११ दिन न्यायिक हिरासतमा बसेर ५० हजार रुपैंयाँ धरौटीमा रिहा भएकी थिईन् ।
कैद सजाय भुक्तान गरेको भएपनि उनले अदालत साउन २५ गते(आज) को आदेश बमोजिमको रकम बुझाउन नसकेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कानुन अनुसार भंगडले अब जरिवाना बराबरको कैद भुक्तान गर्नुपर्ने भएकाले पक्राउ गरेर जेल चलान गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।