प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छिन् । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताइन्।
सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् ।
उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताइन् । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताइन् । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन्,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’
प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उनले बनमारा मासेर कोदो लगाईने बताइन् । मन्त्री राईले भनिन्,‘ गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उनले सयौं योजनाहरु इसमा रहेको बताइन् ।
नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दावी छ । उनले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताइन् । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताइन् ।