संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्ला दिनमा बढ्दै गएको संकटको समाधानका लागि अरु सबै खालका विकल्पमा नभएर राजनीतिक वार्तालाई नै अघि बढाउनुपर्ने भन्दै आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले पछिल्ला वर्षमा इथियोपियाका नागरिकले धेरै दुःख पाएका छन्, उनीहरुले अहिले खाद्यान्नलगायतका अति आवश्यकताका विषयमा पनि संघर्ष गर्नु परिरहेको अवस्था छ, त्यसैले यहाँको विषयमा वार्ता नै उचित विकल्प हुनेछ भनेका छन् । पछिल्ला वर्षमा इथियोपियामा हिंसा बढ्दै गएको र यसबाट यहाँका पूर्वाधार पनि ध्वस्त भएका र कैयौँ नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्रसङ्घले यहाँको समस्या राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको देखेको महासचिव गुटर्रेसले बताएका हुन् ।