धरान । सरकारले दुई साताभित्रै दुईपटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि देशव्यापी विरोधका स्वर उर्लिन थालेका छन् । सरकारले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
उक्त मूल्य वृद्धिको विषयमा राजनीतिक दलका भातृसंस्था तथा विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् । यसैबीच नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेकपाले ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ । यता काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
प्रदर्शनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट विद्यार्थीहरूले प्रदर्शन गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने जनाएका थिए ।
उनीहरू विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा ७५ रुपैयाँ, डिजेल तथा पेट्रोलमा ३–३ रुपैयाँ मूल्य बढाएको थियो । यो पछिल्लो एक साताअघि मात्रै प्रतिलिटरमा २ रुपैयाँले वृद्धि गरिएको थियो ।

मूल्यवृद्धिको विरोधमा सत्तारुढ दलकै विद्यार्थी सङ्गठन पनि आन्दोलित बनेको छ । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारले पनि दुई साताका बीचमा २ पटक मूल्य वृद्धि गरेको थियो । त्यसबेला विपक्षी दलका विद्यार्थी सङ्गठन तथा नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको थियो । नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तलमाथि भएको भन्दै मूल्यवृद्धि गरिएको जनाएको छ ।
यता विप्लवको पार्टीले देशव्यापी विरोधको कार्यक्रम सार्वजनिक गर्दै मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गरेको छ । उसले नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध कार्यक्रम गर्ने, शुक्रबार मसाल जुलुस निकाल्ने, शनिबार १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, आइतबार १० बजेदेखि ११ बजेसम्म चक्काजाम र सोमबार सिठ्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाएको छ । कात्तिक ३० अर्थात् मङ्गलबार देशव्यापी बन्दको कार्यक्रम घोषणा गरेको छ ।
मूल्यवृद्धि फिर्ता लिएको हकमा भने घोषित कार्यक्रम फिर्ता हुनसक्ने सम्भावना रहेको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य चाँडो चाँडो घटबढ हुने गरेको छ । राजनीतिक अस्थिरताका कारणले पनि इन्धनको मूल्य तलमाथि हुने गरेको छ ।