सुनसरी । सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गर्न थालेको छ ।

चाडपर्वको बेला भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकको सङ्ख्या बढ्दो छ । केही घरायसी प्रयोजनका लागि सरसामान किनमेल गर्न भारतीय बजार जाने गरेका छन् भने धेरै ग्राहक बनेर व्यापारिक प्रयोजनका लागि जाने गरेका छन् । घरायसी किनमेल गर्न भारतीय बजार जाने ग्राहकलाई सीमामा तैनाथ सुरक्षाकर्मीले केही सहजता दिएको मौकाको फाइदा उठाएर व्यापारीहरूले भन्सार छलेर लाखौंको सामान नेपाल भिœयाउने गरेका छन् ।

भारतीय बजारमा सस्तोमा किन्ने र नेपाली बजारमा महँगोमा बेच्ने उद्देश्यले व्यापारीहरूले विभिन्न सामान तस्करी गराउँदै आएका छन् । सीमावर्ती क्षेत्रका स्थानीय महिला, बालबालिका तथा युवावर्गलाई सामान वारिपारि गराउन व्यापारीहरूले प्रयोग गर्दै आएका छन् ।

भारतीय बजारबाट सामान नेपाल भित्र्याएबापत उनीहरूले एक पटकमा २ सयदेखि ३ सय रुपैयाँसम्म सामानअनुसारको रकम व्यापारीबाट पाउँछन् । एक पटकमा थोरै मात्रामा उनीहरूले भारतीय बजारबाट भन्सार छलेर सामान नेपालतर्फ भिœयाउने गरे पनि सामान्य चेकजाँचबाहेक सीमामा तैनाथ सुरक्षाकर्मीले खासै वास्ता गर्दैनन् ।

पटक–पटक एउटै व्यक्तिले सामान ओसार–पसार गरेको पाएपछि प्रहरीले भन्सार कटाउन भन्दा उनीहरू घरायसी प्रयोजनको लागि भन्दै प्रहरीसँगै विवाद गर्न थाल्छन् । यसरी दिनहुुँ भारतीय बजारबाट ल्याइएको विभिन्न सामान सीमावर्ती क्षेत्रको पसल वा कसैको घरमा स्टक गरी राख्ने र रातको समयमा व्यापारीहरूले गन्तव्यसम्म पु¥याउने गरेका छन् ।

सामान स्टक गरी राखेको चाल पाएपछि भने प्रहरीले बरामद गर्ने गरेको छ । यसै क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले केही दिनको अवधिमा लाखौं मूल्य बराबरको सामान बरामद गरेको छ । इन्स्पेक्टर भूवन खड्काका अनुसार भारतीय बजारबाट भन्सार छलेर ल्याइएका सामान राजधानी काठमाडौंतर्फ लाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा बरामद गरिएको हो ।

असोज १७ गते विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.४ ख ८१४ नम्बरको हायसमा नक्कली बिल बनाई लाँदै गरेको कुर्ता, सुरुवाल १ सय ८४ थान, कुर्ती ९ थान र लेगिज ५७ थान गरी जम्मा १ लाख १२ हजार २ सय ५० रुपैयाँ बराबरको कपडा बरामद गर्दै आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी असोज २२ गते झापाबाट काठमाडौं जाँदै गरेको बा.५ प ३६२६ नम्बरको हायसबाट बिल नभएको १ सय थान कुर्ता सुरुवाल अन्दाजी मूल्य १ लाख बराबरको बरामद गरी भन्सार कार्यालयमा बुझायो ।

१४ महिनाको अवधिमा १ करोड ३१ लाख ७९ हजार ९ सय ३९ मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरी कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले जनाएको छ । जनशक्ति अपुग भए पनि नेपाल प्रहरीसँग समेत समन्वय गरिएको र सीमामा निगरानी तथा गस्ती बढाइएको हुँदा चाडपर्वको समयमा तस्करीका सामान बरामद हुने क्रम बढेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।