विराटनगर । व्यवस्थापन सङ्कायमात्र पठन–पाठन हुने विराटनगरको एक मात्र कलेज मेरिल्याण्डले कक्षा १२ को नतिजामा यस वर्ष पनि सर्वोत्कृष्ट भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार मेरिल्याण्डले यस वर्ष पनि कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

७ सय ७७ जना विद्यार्थीले दिएको परीक्षामा १ सय १३ जनाले ‘ए’ प्लस, ‘ए’ ४ सय २९, ‘बी’ प्लस २ सय १५ र ‘बी’ २० जनाले ल्याएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । मेरिल्याण्डका छात्रतर्फ गणेश कार्कीले ३.७८ जीपीए ल्याएर कलेज टप गरेका छन् । छात्रातर्फ आयषा दाहालले ३.७६ जीपीए ल्याइन् ।

विराटनगर–७ रङ्गेली रोडमा रहेको मेरिल्याण्ड कलेज यसअघि देशभरिमै टप–७ मा पनि पर्न सफल भएको थियो । तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड कलेज उत्कृष्ट ७ मा पर्न सफल भएको थियो ।

केही दिनअगाडि पनि केन्द्र विन्दु नाम सञ्चार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देशभरिकै बेस्ट १० प्लस टु को सूचीमा परेको थियो । मेरिल्याण्ड गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको मन जित्न सफल छ ।

२०५९ सालमा स्थापित कलेजले २० वर्षको अवधिमा व्यवस्थापक, उद्यमी, सरकारी कार्यालय प्रमुखहरू उत्पादन गरी अहिले स्वरोजगार भएका छन् । कलेजबाट उत्पादन भएका विद्यार्थीहरू अहिले देशविदेशमा अध्ययन गरी रोजगारी पाएका छन् ।