धरान । सिद्धि नेवाः परिषद् धरानको पन्ध्रौं साधारणसभा तथा सिद्धिमान–गङ्गालक्ष्मी पलिखेको १५८ औं जन्मजयन्तीमा ‘चन्द्र सर स्मृति पुरस्कार’ बाट दुई अग्रज कलाकार तथा पत्रकार सम्मानित भएका छन् ।
चन्द्रप्रसाद श्रेष्ठले स्थापना गरेको पुरस्कार अग्रज पत्रकार हर्ष सुब्बा, चित्रकार गोपालराज शाक्य र पिण्डेश्वर आधारभूत विद्यालयलाई सम्मान–पत्रसहित नगदले पुरस्कृत गरेको हो ।
सुब्बालाई प्रदान गरिएको पुरस्कारको राशि २१ हजार रुपैयाँको छ भने शाक्यलाई १५ हजार र विद्यालयलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ भने साथमा कदर–पत्र पनि रहेको छ । हरेक वर्ष सिद्धि नेवाः परिषद्को साधारणसभाको अवसरमा पुरस्कार प्रदान गरिँदै आएको संस्थाका सचिव महेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै विभिन्न दाताहरूले स्थापना गरेको पुरस्कार पनि वितरण गरिएको छ । १० हजार रुपैयाँ राशिको पुरस्कारबाट गरिब तथा जेहेन्दार १६ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । एसईईतर्फ शिक्षा निकेतनकी प्रमिला श्रेष्ठ, सहिद स्मृतिका रविन श्रेष्ठ, शारदा बालिकाकी मेघा श्रेष्ठ, शिक्षा सदनका विराट श्रेष्ठ, सरस्वती माविकी कल्पना श्रेष्ठ र भानु स्मृतिकी जयन्ती श्रेष्ठलाई प्रदान गरिएको छ ।
त्यस्तै प्लस टुतर्फ शिक्षा निकेतनका रोहन श्रेष्ठ र सिम्रन श्रेष्ठ, सरस्वती माविका मिराज श्रेष्ठ र प्रतिमा श्रेष्ठ छन् भने शारदा बालिकाकी निशा श्रेष्ठ छिन् । यसैगरी इन्जिनियरिङतर्फ पूर्वाञ्चल इन्जिनियरिङका पल्लभी श्रेष्ठ, अभिजित प्रधान, रमन श्रेष्ठ, गुप्तराज श्रेष्ठ र अनिश श्रेष्ठ छन् ।
उनीहरूलाई प्रदान गरिएको पुरस्कार पनि धरानका विभिन्न नेवार समुदायका परिवारले आफ्ना अग्रजको नाममा स्थापना गरेका हुन् । कार्यक्रममा सम्मानित तथा पुरस्कृत विद्यार्थीहरूलाई प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, समाजसेवी तथा सिद्धि नेवाः परिषद्की पूर्वअध्यक्ष सरला कायस्थ, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ र अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले प्रदान गरेका थिए ।
कार्यक्रममा सभामुख भण्डारीले नेवार समुदाय संस्कृति, भाषा, साहित्य, कलामा धनी भएको समुदाय रहेकोले उसले धरानमा जुन खालका प्रयास गरेको छ, त्यो गौरव गर्नलायक रहेको बताए । उनले सम्मानित तथा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै दाताहरूले जुन उद्देश्यका साथ प्रगति, उन्नति होस् भनेर दिएका छन्, त्यसबाट दातालाई ऊर्जा प्राप्त हुने खालको कार्य गरिरहन आग्रह गरे ।
उनले सिद्धि नेवाः परिषद् धरानको गौरव रहेको पनि चर्चा गरे । सभाध्यक्ष गोकुलप्रसाद श्रेष्ठले सिद्धि नेवाः परिषद् निर्माण गर्नका लागि जग्गादाताहरूले जुन उद्देश्य र परिकल्पनाले दिएका थिए, सोहीअनुसार संस्था अगाडि बढेको बताए । उनले जग्गादाता र उनको परिवारलाई पनि धन्यवाद दिए ।
परिषद्का नाममा पलिखे परिवारले ८ कठ्ठा १२ धुर जग्गा दिएको उनले स्मरण गराए । त्यसक्रममा उनले संस्थाको आर्थिक आय–व्यय पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा धरान–७ का वडाध्यक्ष जीवन सुवेदी पनि सहभागी बनेका थिए ।