विजयपुर । पिण्डेश्वर विद्यापीठले ७० औं वार्षिकोत्सवको अवसरमा आफ्ना दुई व्यक्तित्वलाई सम्मानित गरेको छ ।
पीठमा लामो समयदेखि योगदान दिएका उपप्राध्यापक डेगराज पौडेल र लेखा अधिकृत पदम वलीलाई सम्मानित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तथा संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा विद्यापीठका प्राचार्य उपप्राध्यापक काशीनाथ पौडेलले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरे ।
वार्षिकोत्सव कार्यक्रममा विद्यापीठकी कर्मचारी कमला पोखरेललाई बिदाइ पनि गरिएको छ । वार्षिकोत्सवमा खेलकुद उपसमिति संयोजक उपप्राध्यापक कृष्णगोपाल अधिकारीका अनुसार वार्षिकोत्सवको अवसरमा २ सय मिटर दौड, क्यारेमबोर्ड, बुद्धिचाल र टेवलटेनिस प्रतियोगिता गरिएको थियो । उक्त खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
उनले प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण पनि गरेका जानकारी दिए । कार्यक्रममा प्रज्ञाज्योति बहुभाषिक अनुसन्धान पत्रिका विमोचन गरिएको छ । पत्रिकामा नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका विद्वत् लेख प्रकाशित छन् । यसैबीच ४० लाख रुपैयाँको लागतमा निर्मित व्यापारिक भवनको पनि उद्घाटन गरिएको छ ।