धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं ९ गणेशटार स्थित राम माध्यमिक विद्यालयले ६५ औ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।  

विद्यालयले ६५ औ वार्षिक उत्सवको अवसरमा भवन उद्घाटन, छात्रवृत्ति वितरण लोकनृत्य , हाजिरी जवाफ लगायतको विविध कार्यक्रमहरू बिहीबार सम्पन्न गरेको हो  । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद राजेन्द्र कुमार राईले विद्यालयको नव निर्मित २ तले पक्की भवनको समुद्घाटन गरेका छन् । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय संसद् राजेन्द्र कुमार राईले शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेकोले जनशक्ति उत्पादनको क्षेत्रमा सरकार लगातार अघि बढिरहेको बताए । 

शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा जनशक्तिको अभावमा विकास निमार्णको काम समयमा सम्पन्न गर्न नसकिएको राईको तर्क थियो । संसद् राईले लोकतन्त्रलाई व्यवस्थित गर्न नेकपा एमालेले चाहिरहेको भन्दै काँग्रेस र माओवादीले हैकम वाद र भाँडभैलोतिर लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकार लाचार र नामर्द भएको भन्दै जनताको पक्षमा केही काम गर्न नसकेको ठोकुवा गरे । सो अवसरमा प्रदेश सांसद ईन्द्रमणी पराजुलीले नेकपा एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूबाट इतिहासमा कहिल्यै नभएको काम गर्न सफल भएको दाबी गरे ।  पूर्ण योगदान गर्न र साझा प्रयास गर्न जरुरी रहेको भन्दै उनले यो मुलुकको परिवर्तन गर्नका लागि साँच्चै सुखी नेपाली समृद्ध नेपाल बनाउन लाग्यो भने मात्र हामीले चाहेको समृद्धि हासिल हुने बताए । शिक्षा क्षेत्र सबै अभियानको अगुवाइ गर्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको पराजुलीले औँल्याए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, शिक्षा विकास समन्वय समितिका प्रमुख मोहन राई, नगर प्रमुख पर्शुराम नेपाल लगायतले विद्यालयको उत्तरोत्तर प्रगति र सफलताको लागी शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार, मेहनती  कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई विद्यालयमा स्थापना गरिएको देविदत्त काफ्ले अक्षयकोषबाट छात्रा वृद्धि वितरण गरिएको थियो । विद्यालयको कक्षा ११ र १२ का २/२ जना छात्रछात्रालाई जनही २५ सय, कक्षा १० का दुई जना छात्रछात्रालाई जनही २ हजार र कक्ष ८ का दुई जना छात्रछात्रालाई जनही १५ सयका दरले छात्रवृत्ति वितरण गरिएको थियो । 

सोही अवसरमा विद्यालयले सञ्चालन गरेको लोकनृत्य प्रतियोगितामा सिंहदेवी मावि ७७ अंक प्राप्त गरेर प्रथम, जनता मावि ७६ अकं प्राप्त गरेर दोस्रो, राम माविले ७५ अंक प्राप्त गरेर तेस्रो स्थानमा विजय हासिल गरेका थिए । त्यसै गरी मूर्ति महेश्वर माविले ६४ अंक प्राप्त गरेर चौथो स्थानमा चित्त बुझाएको थियो । नृत्य तथा हाजिरी जवाफ प्रतियोगितामा सहभागी छात्रछात्राहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक एनासिहं अधिकारीले वार्षिक प्रगति तथा कार्य योजना प्रस्तुत गरेका थिए ।