धरान/धरान–१२ चतरालाइनस्थित एम्स एकेडेमीको विज्ञान सङ्कायमा अध्ययरत विद्यार्थीको घर आगलागी भई पूर्ण क्षति पुगेपछि कलेजले विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कक्षा १२ मा अध्ययरत ज्ञानेन्द्र खड्काको घर मङ्सिर १६ गते आगलागीमा परी पूर्णरूपमा क्षति पुगेको थियो । त्यसक्रममा घरबाट सामान निकाल्ने क्रममा खड्काको हात पनि जलेको थियो । कलेजका शिक्षक तथा विद्यार्थीहरूबाट सङ्कलन गरी ३५ हजार ४३५ रुपैयाँ नगद हस्तान्तरण गरिएको व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जानकारी दिए । उनका अनुसार खड्काको परिवारका ज्येष्ठ सदस्य रामबहादुर खड्कालाई रकम हस्तान्तरण गरिएको थियो ।
घटनाको भोलिपल्ट संयोजक सुवेदी र उनकी पत्नी सोनु राई सुवेदीले पनि १२ हजार रुपैयाँ बराबरको खाद्यान्न र अतिआवश्यकीय सामग्री वितरण गरेको थियो । संयोजक सुवेदीले आफ्ना विद्यार्थीलाई परेका बेलामा सहयोग गरौं भन्ने उद्देश्यले कलेजमा अध्यापनरत शिक्षक तथा विद्यार्थीहरूबाट सङ्कलन गरी रकम प्रदान गरिएको हो । त्यसमा कलेजले पनि सहयोग गरेको थियो ।