बिर्तामोड । झापाको बिर्तामोडबाट बेल्ला मोटर्स खरिद गरेका व्यक्ति ठगिएका छन् । बिर्तामोड–१ मा रहेको आरती बुद्ध अटो मोबाइल्सबाट ढुवानीका लागि खरिद गरेको बेल्ला मोटर्समा अनेकौं समस्या देखापरेपछि खरिदकर्ताहरूले आफूहरू ठगिएको भन्दै पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।

बेल्ला मोटर्स खरिद गरेका चारजनाले आफूहरू ठगिएको बताएका छन् । उनीहरूले विक्रेताले भनेअनुसार गाडी नभएको भन्दै तत्काल रकम फिर्ताको माग गरेका हुन् । बुद्धशान्ती–३ का दीपक भट्टराई, बिर्तामोड–३ का आस्मुद्दिन खाँन, दिलिप दास र बाह्रदशी–५ का रासिद खानले बिर्तामोडस्थित आरती बुद्ध अटो मोबाइल्सबाट बेल्ला मोटर्स खरिद गरेका थिए । उनीहरूलाई प्रतिलिटर ३५ किलोमिटर माइलेज कुदाउन सकिने विक्रेताले भने पनि अधिकतम् ७ देखि १० किलोमिटर मात्रै कुदाउन सकिएको पीडितहरूको भनाइ छ ।

सो मोटर्सले भनेजति माइलेज नभएको, अस्वभाविक रूपमा इञ्जिन तात्तिएको र पानी चुहिने समस्याले खरिदकर्ता हैरान भएका छन् । बिर्तामोडमा आस्मुद्दिन खाँनले खरिद गरेको २ महिनामै पानी चुहिने समस्या आएपछि शोरुममा समस्या सुनाएका थिए । शोरुमले बनाइदिने भनेअनुसार तत्कालका लागि बनाए पनि पानी चुहिने समस्या हल नभएको खाँनको भनाइ छ । उनका अनुसार पटक–पटक बनाउँदा पनि समस्या हल नभएकाले गाडी नै शोरुमलाई बुझाएका छन् ।

८ महिनादेखि शोरुममा गाडी बुझाएका खाँनले न त नयाँ गाडी पाएका छन्, न त पैसा नै फिर्ता । उनले गाडी राखेर पैसा फिर्ता दिन भनेको ८ महिना बितिसकेको छ । महिनौं बितिसक्दासमेत कुनै समाधान नपाएपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीमा उजुरी गरेपछि एक हप्ताभित्र समाधान खोज्ने सहमति भएको थियो । पीडितहरूका अनुसार सो सहमतिसमेत कार्यान्वयन भएको छैन ।

पीडितहरूले अब गाडी लैजान नसक्ने भन्दै पैसा वा पैसा नभए अटो खरिद गरेर हिसाब मिलाउन विकल्प दिएका छन् । बेल्ला मोटर्सका विक्रेता टीका ओडारीले पटक–पटक समस्या समाधानका लागि आश्वासन दिए पनि भेट नदिएको पीडितहरूको गुनासो छ । ३ सय सीसीको बेल्ला मोटर्स उनीहरूले ६ लाख ४२ हजारका दरले खरिद गरेका थिए ।

सबैले ऋणबाट खरिद गरेकाले त्यसको साँवा–ब्याज तिर्न अप्ठ्यारो भइरहेको जानकारी दिएका छन् । खाँनले बिर्तामोडको कर्णालीबाट धितो राखेर कर्जा लिएका थिए । पहिलो २ महिनादेखि कर्जाको कुनै किस्ता बुझाउन नसकेको खाँनको भनाइ छ । उनी भन्छन्, ‘गाडी नै चलाउन नपाएपछि कसरी किस्ता तिर्नु ?’ कमसल गाडीलाई राम्रो भन्दै झुक्याएर विक्री गरेको पीडितहरूको आरोप छ ।

शोरुमका सेल्स म्यानेजर विवेक निरौलाले कम्पनीलाई समस्याबारे पटक–पटक जानकारी गराइएको बताए । उनका अनुसार माथिबाट कुनै पनि सुनुवाइ हुने छाँटकाँट छैन । यता, आरती बुद्ध अटो मोबाइल्सका सञ्चालक टीका ओडारीले कम्पनीको विश्वासमा गाडी विक्री गरेको जानकारी दिए । उनले कम्पनीले बताएअनुसारकै विशेषता बताएर विक्री गरेको स्वीकार गरेका छन् । ‘हामीलाई जे बताइएको थियो, त्यै भनेर बेचेकै हो’–ओडारी भन्छन् ।

सुरुवातमा साना समस्या आउँदा आफै समाधान गरेको उनको भनाइ छ । ओडारीका अनुसार पछिल्लो समय ठूलो समस्या आएपछि कम्पनीलाई नै जानकारी गराइएको छ ।

खरिदकर्ताले दबाव दिएपछि ओडारीले कम्पनीका प्रतिनिधि बोलाएर इलाका प्रहरी कार्यालय अनारमनीमा एक हप्ताभित्र समस्या समाधान गर्ने सहमतिसमेत गराएका थिए । तर, सहमतिअनुसारको समयसमेत सकिएको छ ।

बेल्ला मोटर्सलाई ओडारीले बुझाउनु पर्ने रकम नबुझाएका कारण समाधानमा चासो नदिएको बुझिएको छ । ओडारीलाई पैसा किन नबुझाएको भन्ने प्रश्न गर्दा उनले भने, ‘गाडी बेच्दै पैसा दिने सहमति भएको थियो । गाडीमा समस्या आइरहेको अवस्थामा कसरी पैसा बुझाउनु ? पैसा बुझाएपछि पीडितको सुनुवाइ नहुने सम्भावना हुन्छ, त्यसैले ५–६ लाख बुझाएको छैन ।’ कम्पनीका मालिक किसानध्वज कार्कीले पछिल्लो समय फोनसमेत नउठाएको ओडारीको भनाइ छ ।

bella1