विजयपुर । धरान–९ स्थित विष्णु स्कुलले स्थानीय सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको विषयमा उपमहानगरमा उजुरी दिएको १० दिन बित्दा पनि चासो नदेखाएको भन्दै अभिभावक पुनः नगरपालिका पुगेका छन् । उपमहानगरमा उजुरीको विषयमा के हुँदैछ भन्दै उनीहरू पुगेका हुन् ।
विष्णु स्कुलविरुद्ध प्रमाणसहित लिखित उजुरी दिँदा पनि छानबिन नभएको भन्दै शुक्रबार ६५ जना अभिभावकहरू उपमहानगर पुगेका हुन् । स्कुलले अभिभावकसँग अनलाइन कक्षाको नाममा उपमहानगरको कार्यपालिकाले निर्धारण गरेभन्दा २५ प्रतिशत बढी शुल्क लिएको भन्दै उजुरी दिएका थिए ।
कक्षा ८ को वार्षिक शुल्क २७ हजारको ५० प्रतिशतले १३ हजार ५ सय लिनुपर्नेमा स्कुलले ७५ प्रतिशत अर्थात् २० हजार २ सय ५० रुपैयाँ लिएको थियो । अर्का अभिभावकसँग पनि वार्षिक शुल्क १२ हजार लिनुपर्नेमा १८ हजार ७ सय ५० रुपैयाँ लिएको अभिभावकहरूले बताएका थिए ।
उपमहानगरको कार्यपालिकाले गरेको निर्णयअनुसार विष्णु स्कुलले ५० प्रतिशत शुल्क लिनुपर्नेमा ७५ प्रतिशत लिएको भन्दै उजुरी दिएका थिए । चालु शैक्षिक सत्रमा स्कुलले विभिन्न शीर्षकका शुल्कहरू अभिभावक मारमा पर्ने गरी अत्यधिक वृद्धि गरेकाले कानूनी उपचार खोज्दै उनीहरूले मङ्सिर २३ गते उजुरी दिएका थिए ।
अभिभावकहरूले विष्णु स्कुलले नर्सरी र केजीमा गतवर्षको भन्दा ४० प्रतिशत शुल्क वृद्धि गरेको छ । १ देखि ५ कक्षासम्मको ३६ प्रतिशत, कक्षा ६ देखि ८ सम्मको ३९ प्रतिशत र कक्षा ९ र १० को ३८ प्रतिशत शुल्क वृद्धि गरेको हो । यसमा कम्प्युटर शुल्क भने समावेश नगरिएको अभिभावकहरूले भन्दै उजुरी दिएका थिए ।
शुल्क अत्यधिक वृद्धिबारे अभिभावकले उजुरी दिएको १० दिन बित्दा पनि उपमहानगरले छानबिन नगरेपछि पुनः उपमहानगरमा गएको अभिभावक विनोद तिमिल्सिनाले जानकारी दिए । उनले १० दिन बित्दा पनि सुनुवाइ नभएकाले पुनः ध्यानाकर्षणका लागि उपमहानगरमा गएको बताए ।
यता उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालले शुल्क वृद्धिबारे अध्ययन गरी वार्षिक शुल्क वृद्धि नगर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘विद्यालयले मासिक शुल्क वृद्धि गर्न पाउनुपर्छ भनेको छ । स्कुलले अभिभावकको सहमतिमा मासिक शुल्क वृद्धि गरेको दाबी गरेको छ । सो विषयमा मेयरसहित स्कुलका प्रधानाध्यापकसँग बसेर छलफल गर्छौं ।’
शुक्रबार उपमहानगर पुगेका अभिभावकले उपमहानगरसँग विष्णु स्कुलले कति पटक अनुमति लिएर शुल्क वृद्धि ग¥यो वा अनुमति नै नलिई शुल्क वृद्धि गरेको हो भन्ने विषयमा सूचना पनि माग गरेको बताए । उनीहरूले सूचनाको हक अन्तर्गत स्थानीय तहमा माध्यमिक तहसम्म सञ्चालनको अधिकार आएपछि सूचना माग गरेका हुन् ।
उनीहरूले अनुमति लिएर शुल्क वृद्धि गरेको हो कि आफूखुसी शुल्क वृद्धि गरेको भन्नेबारे जानकारीको लागि सूचना माग गरेको बताए । अभिभावक विनोद तिमिल्सिनाले विष्णु स्कुलले अनुमति लिएर शुल्क वृद्धि गरेको बताए पनि उपमहानगरले भने स्कुलले अनुमति नलिएको बताए ।
उनले भने, ‘कति पटक स्थानीय तहसँग अनुमति लिएर शुल्क वृद्धि गरेको रहेछ भनी सूचना माग गरेका हौँ ।’ अनुमति नलिई शुल्क वृद्धि गरेको भए सोहीअनुसार अघि बढ्ने उनले बताए । शाखा प्रमुख कटुवालले शुल्क वृद्धि गर्न ३ वर्षयता स्थानीय सरकारले अनुमति नदिएको बताए । उनले भने, ‘पहिले दिएको थियो भने थाहा छैन । ३ वर्षयता अनुमति दिएका छैनौं ।’ उनले उपमहानगरको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्ने नगर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।