धरान । सेवक अभियान धरानले बौद्धिक अपाङ्ग रहेको धनकुटा नगरपालिका–१० स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

स्वास्थ्यका लागि पदयात्रा गर्दै पुगेको अभियानले विद्यालयका ३५ जना विद्यार्थीलाई स्वेटर र उनीको टोपी वितरण गरेको अध्यक्ष राजीव हलुवाईले बताए । यसपटक स्वास्थ्यका लागि पदयात्रा गर्दै टोली वराहक्षेत्रको चतरा हुँदै धनकुटाको दक्षिण पश्चिमी क्षेत्र शहीद गाउँपालिकाको २ नम्बर वडाको सिम्ले हुँदै उत्तरपानेस्थित विद्यालयमा आएर स्वेटर र टोपी वितरण गरेको हो । 

विद्यालयका ३५ जना विद्यार्थी र पाँच जना शिक्षकका लागि स्वेटर र टोपी हस्तान्तरण गरिएको थियो । पदयात्रामा सहभागीहरूले बालबालिका तथा शिक्षक, शिक्षिकालाई सामग्री प्रदान गरेका थिए । २०५१ सालमा स्थापित विद्यालयमा सुस्त मनस्थिति, बहिरालगायतका विद्यार्थीहरू अध्ययरत रहेको स्कुलका शिक्षक भूपेन्द्र भण्डारीले जानकारी दिए ।

sewak_dharan_help_dhankuta_school (2)

विद्यालय दाता, तथा सहयोगीबाटै सञ्चालन भइरहेको समेत उनले बताए । सरकारले उपेक्षा गर्दा विद्यालय जुन स्तरमा पुग्नु पर्ने हो त्योअनुसार हुन नसकेको जनाए । सरकारी स्रोतबाट दुईजना शिक्षक भए पनि उनीहरूको तलब न्यूनतम मात्रै रहेको उनले जनाए । उनले सेवक अभियानलाई धन्यवाद ज्ञापन गरे । 

स्मरण रहोस्, सञ्चारक्षेत्रमा स्थापित बनेका रमेश प्रसाईं पनि सोही विद्यालयमा केही समय अध्ययन गरेका थिए ।