यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कुम्मायक–२ माङ्जाबुङका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच महागुरु फाल्गुनन्द सालिक संरक्षण समितिले शैक्षिक सामग्री वितरण गरेको हो ।
समितिले अक्षयकोषको ब्याजबाट वडाका ८ विद्यालयका १ सय ३३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिद्धसरस्वती मा.वि. माङ्जाबुङमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर वितरण गरेको समितिका अध्यक्ष सूर्यविक्रम चेम्जोङले बताए ।
सोही अवसरमा विद्यालयका शिक्षकहरूलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले महागुरुको सालिक संरक्षण समितिले अक्षयकोषमार्फत् शैक्षिक गुणस्तर सुधार गर्न महŒवपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा संरक्षण समितिका कार्यवाहक अध्यक्ष तथा कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावती, २ नम्बर वडाका अध्यक्ष बालकृष्ण शेर्मालगायतका अतिथिहरूले बोलेका थिए ।
समितिले यसअघि फाल्गुनन्द जन्मजयन्तीको अवसरमा गाउँपालिकाका ४ वटा वडाका ३१ सामुदायिक विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसमेत गरेको थियो ।