विराटनगर । विराटनगर–१६ रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट हासिल गरेको छ ।
स्कुलपरिसरमा आइतबार एक कार्यक्रममका बीच सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।
व्यावसायिक अन्तर्राष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकी संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेसन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरूले विद्यालयलाई प्रमाण–पत्र हस्तान्तरण गरेका हुन् ।
क्वालिटी सर्टिफिकेसन सिस्टम प्रालिका एमडी हरिशङ्कर भुजेल र लिड अडिटर ध्रुव मिश्रले विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवाललाई आईएसओ प्रमाण–पत्र हस्तान्तरण गरे । योसँगै गौतमबुद्ध आईएसओ सर्टिफिकेट हासिल गर्ने विराटनगर महानगरपालिकाभित्रकै पहिलो स्कुलमा दरिन सफल भएको छ ।
कुनैपनि शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाण–पत्र प्रदान गरिन्छ । यो प्रमाण–पत्रको संसारभरि मान्यता हुन्छ ।
आईएसओ ९ हजार एक २ हजार १५ हासिल गर्न आवश्यक सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले गौतम बुद्ध सेकेण्डरीलाई प्रमाण–पत्र प्रदान गरिएको क्वालिटी सर्टिफिकेसन सिस्टम प्रालिका एमडी भुजेलले बताए । प्रदान गरिएको प्रमाण–पत्रलाई प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था रहेको भुजेलले बताए ।
त्यसका लागि प्रत्येक वर्ष विद्यालयको अनुगमन र निरीक्षण गरिने उनले बताए । २०३७ सालमा स्थापना भएको प्रदेश १ को ‘क’ वर्गको सो विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सुवालले बताए । विराटनगर महानगरपालिकाभित्र ९३ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेको प्याब्सन विराटनगरले जनाएको छ ।