धरान । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) को धरान नगर समितिमा पुनः भगत लिम्बू अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । 

धरानको कञ्चनजङ्घा होटलमा बिहीबार सम्पन्न दोस्रो अधिवेशनले लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा, उपाध्यक्षमा विष्णु प्रधान, सचिवमा सागर खड्का, सहसचिवमा सुमिता राई र कोषाध्यक्षमा वसन राई चयन भए । यसैगरी सदस्यहरूमा जगत नेम्वाङ, पृथ्वी रैका मगर, अरुण राई, लोकेन्द्र श्रेष्ठ, मिलन राई, प्रतिक्षा राई, गौरवमान श्रेष्ठ, अरुण राई र गिरिधारी सापकोटा छन् । 

अधिवेशनको उद्घाटन एनप्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र गुरुङले गरे । उद्घाटनपश्चात् उनले निजी तथा आवासीय स्कुलहरूलाई २२ वर्षको अवधिमा माओवादी द्वन्द्व र कोरोना महामारीले समस्या बनाएको बताए । उनले त्यसभन्दा अघिपछि स्थिर रूपमा सञ्चालन भए पनि महामारीले गर्दा कतिपय निजी तथा आवासीय स्कुलहरू मर्जको चरणमा रहेको बताए । उनले चारवटा निजी स्कुल बन्दको अवस्थामा रहेको पनि बताए । 

कार्यक्रममा प्रदेश १ उपाध्यक्ष गणेश राईले बन्दसत्रबाट आउने नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे । त्यस्तै जिल्ला अध्यक्ष नारायणकुमार सञ्जेलले निजी तथा आवासीय स्कुलको अहिले पनि ‘चार्म’ रहेको बताए । सामुदायिक स्कुलहरू राजनीतिका कारणले धरासायी बनेको बताउँदै उनले निजी स्कुलहरूमा अहिले पनि अभिभावकको आकर्षण रहेको बताए । अधिवेशनको बन्द सत्रमा संस्थाको आयव्यय प्रस्तुत गरिएको थियो भने साङ्गठानिक प्रतिवेदन पनि प्रस्तुत गरियो ।