धरान । धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा ४ देखि माथिका विद्यार्थीका लागि साईन्स ल्याब सुरु गरेको छ ।
स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । स्कुलले ८ लाख लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । उनका अनुसार ल्याबमा हाल ६ वटा माईक्रोस्कोपसहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए ।
विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जोड दिनका लागि कक्षा ४ देखि नै ल्याबमा सिकाउन थालिएको उनी बताउँछन् । भन्छन्, ‘हामी लर्निङ बाई डुईङ अर्थात अभ्यास गरेरै सिक्न सकिन्छ भन्नेमा विश्वास राख्छौं । त्यसैले विद्यार्थीलाई पुस्तकका सिद्धान्त मात्र होईन अभ्यासमा जोड दिएका हौं ।’
स्कुलले अडियो भिज्युअल सहितको स्मार्ट कक्षापनि सञ्चालन गरिरहेको छ । स्कुलका प्रबन्ध निर्देशक गंगाराम राई विद्यार्थीलाई सानैदेखि सृजनसील र प्रविधिमैत्री बनाउनमा पनि जोड दिइएको बताउँछन् । त्यसका लागि विद्यार्थीहरुले दैनिक प्रार्थानासभामै उनीहरुले जानेका कुरा सुनाउने गरेको उनी बताउँछन् । स्कुलले कक्षा २ देखि माथिका विद्यार्थीलाई कम्प्युटर ल्याब सञ्चालन गरिरहेको छ ।