अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेको छ । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तरक्रियामा उनले सो आग्रह गरेको हो ।
आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेको हो । “एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराए”, उनले भने, “यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।”
फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने उल्लेख गर्दै उनले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए । “परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन”, उनले भने ।
उनले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने बताए ।
लगानी बोर्डको उपाध्यक्षसमेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए ।