विराटनगर । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाख बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनलाई ऐक्यबद्धता जानाउने विभिन्न पाँच विद्यार्थी सङ्गठनहरूले बुधबार नोवेल मेडिकल कलेजको प्रशासन फाँटको मूल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना जति विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ ।

ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनहरूले नोवेलको मूल गेट तोडफोड गरेपछि चौथो तलामा रहेको प्रशासन फाँटमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको माग पूरा गर्न नोवेल मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको थियो । विद्यार्थीको माग सुनवाइ नभएपछि आन्दोलित विद्यार्थीसहित विभिन्न पाँच विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेको चिकित्सक शिक्षा सङ्घर्ष समितिका संयोजक मनिष भट्टराईले जानकारी दिए ।

‘कलेज प्रशासनले विद्यार्थीको माग सुनुवाइ गर्ने कुनै पनि सकारात्मक भूमिका नदेखाएपछि बाध्य भएर कलेज प्रशासनमा तालाबन्दी गर्नुपरेको छ’ उनले भने, ‘वार्ताको माध्यमबाट माग सुनुवाइ गर्ने वातावरण नभएसम्म तालाबन्दी कायम रहिरहनेछ ।’ प्रशासनले अतिरिक्ति शुल्क नलिने सहमति गरेपछि मात्र विद्यार्थीहरूको आन्दोलन रोकिने उनले बताए ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् । नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो ।

नेपाली काङ्ग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा. शर्माले आफूहरूबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहवरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए ।

तर, गत बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नुअघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ । विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका र नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोवेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजारलगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाव दिँदै आएको विद्यार्थीले बताएका छन्  ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्षको प्रथम वर्ष बापतको  १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोवेलले विश्व विद्यालयबाट रकम लिइसकेको छ ।

nobel-andolan