धरान । धरानको पब्लिक हाईस्कुलले ६ दिने गणित शिक्षण सिकाइ तालिम सुरु गरेको छ । बिहीबारबाट सुरु भएको तालिममा तीन दिन आधारभूत तह र तीन दिन माध्यमिक तहका शिक्षकलाई तालिम दिने कार्यक्रम रहेको छ ।

तालिममा धरानभरिका विभिन्न सामुदायिक स्कुलमा कार्यरत २० जना गणित शिक्षकहरू सहभागी रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।

गणित विषयलाई सहज र व्यावहारिक बनाउनका लागि शिक्षकहरूलाई तालिम दिइरहेको प्रअ झाले जानकारी दिए । तालिमको सहजीकरण म्याथ ल्याव क्याम्पेनर दयामान श्रेष्ठले गरिरहेका छन् ।

विद्यार्थीहरूलाई लेखाउने र घोकाउने भन्दा पनि क्रियाकलापमा सामेल गराई गणितलाई जीवनसँग जोड्ने हिसाबले पढाउनका लागि शिक्षकहरूलाई प्रेरित गरिरहेको उनले बताए ।

अहिले धेरै विद्यार्थीलाई गणित विषयमा अरूचि हुने गरेको छ । ल्यावमा खेलाउँदै गणित विषयबारे सिकाउन सकेमा त्यो व्यावहारिक र अभ्यासमूलक हुने भएकाले यस तालिमको उद्देश्य पनि व्यावहारिक शिक्षा दिने रहेको आयोजकले  जनाएको छ ।

कार्यक्रमको उद्घाटन धरान उपमहानगरका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कटुवालले गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको तालिम माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर तालिम सञ्चालन गरिरहेको कार्यक्रम संयोजक लेखनाथ भट्टराईले जानकारी दिए ।
–गोमा कुलुङ (प्रशिक्षार्थी)