विजयपुर । फागुन १ गतेदेखि विद्यालयमा भौतिक रूपमा पठन–पाठन सुरु हुने भएको छ ।

आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको हो । सिसिएमसीले १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।

त्यस्तै १२ वर्षमुनिका बालबालिकालाई बारअनुसार आलोपालो कक्षामा सहभागी गराउन सिफारिस गरेको छ । कोभिड–१९ को तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द भएका थिए । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।

त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । यसैगरी सिसिएमसीले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालीन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ ।

रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । पाटी प्यालेसमा पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० जनाभन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न दिन सरकारलाई सिफारिस गरेको छ ।