धरान । धरान–१२ को एम्स एकेडेमीले विज्ञान सङ्काय र स्नातक तहका विद्यार्थीलाई अध्यापन गर्ने गरी नयाँ भवनको उद्घाटन गरेको छ ।
सरस्वती पूजाको अवसर पारेर नयाँ भवनको उद्घाटन गरिएको कलेज सञ्चालक समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए । भवनको उद्घाटन धरान–१२ का अध्यक्ष टङ्क राईले गरे ।
उनले भने, ‘आफ्नो वडामा कलेज आउनु खुसीको कुरा हो, यसलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि वडाले पनि भूमिका खेल्नेछ ।’ उनले भवन उद्घाटनलाई पनि सरस्वतीको प्रसादका रूपमा लिनुपर्ने बताए । अध्यक्ष प्रकाश राईले कलेजमा स्नातक तह र विज्ञान सङ्कायका लागि ल्यावलगायतको सुविधासम्पन्न भवन बनाइएको बताए ।
एम्सले हालै धरानको नेशनल मल्टिपल कलेजलाई पनि समाहित गरेको छ । एम्ससँग सम्बद्ध नेशनलमा व्यवस्थापन सङ्काय, शिक्षा सङ्काय, कलाशास्त्र सङ्काय तथा आइसिटीलगायतको विषय अध्यापन हुँदै आएको छ ।
कलेजले विद्यार्थीलाई बढीभन्दा बढी सेवा दिने अभिप्रायले आधुनिक ल्यावको निर्माण गरेको अध्यक्ष राईले बताए । एम्सले प्लस टुतर्फ विज्ञान, शिक्षा, कलाशास्त्र, व्यवस्थापन सङ्काय अध्यापन गराइरहेको छ । यसैबीच कलेजले नयाँ भवनमै सरस्वतीको पूजा पनि सम्पन्न गरेको छ ।