धरान । धरान–१३ स्थित अमर आधारभूत विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवकै अवसर पारेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण गरिएको स्कुलको ४ कोठे भवन पनि उद्घाटन गरिएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भवनको उद्घाटन गरे ।
राष्ट्रपति शैषिक सुधार कार्यक्रमका लागि २ कोठे ट्रस्ट भवन निर्माण गर्ने गरी १८ लाख रुपैयाँ बजेट विनियोजन भए पनि प्रदेश १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत भौतिक सुधार कार्यक्रममार्फत् प्राप्त ६ लाख बजेट, जनसहभागिता र विद्यालयको आन्तरिक कोषबाट रकम लगाई ४ कोठे भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहरप्यारा श्रेष्ठले जानकारी दिए ।
वार्षिकोत्सवमा कक्षागत विद्यार्थीहरूलाई पुरस्कृत साथै अतिरिक्त क्रियाकलाप, नेपालीमा राम्रो अक्षर लेख्नेलाई लिपि पुरस्कार वितरण गरिएको श्रेष्ठले जानकारी दिए । त्यस्तै शिक्षकसमेत गरी ४२ जना चन्दादातालाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । यस्तै अक्षयकोष दातालाई पनि धन्यवाद पत्र वितरण गरिएको छ ।
कार्यक्रमका प्रदेश सांसद् सावित्री जोसी, धरान १३ का वडाध्यक्ष नेत्र सुवेदी, विद्यालयकी प्रधानाध्यापक झुमा सुवेदीलगायतको उपस्थिति रहेको थियो ।