विजयपुर । परीक्षाका लागि अनलाइन फारम भरे पनि विद्यार्थीको प्रवेश–पत्र नआएपछि इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम) अन्तर्गतको पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थी परीक्षाबाट बञ्चित भएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरू क्याम्पस प्रशासन र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारणले परीक्षा दिनबाट बञ्चित हुनुपरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
क्याम्पसका विद्यार्थी ऋषव आचार्य कम्प्युटर इन्जिनियरिङको तेस्रो वर्षको दोस्रो सेमेष्टरको परीक्षाको परीक्षा फारम भरे पनि अहिले प्रवेश–पत्र नआएपछि परीक्षा दिनबाट बञ्चित बनेका छन् । ‘विधिपूर्वक फारम भरेर बैङ्कमा पैसा जम्मा गरे पनि प्रवेश–पत्र आएन’ उनले भने, ‘यो वर्ष परीक्षाबाट बञ्चित भए १ वर्ष पछि परिनेछ । अर्को वर्ष पनि कोटा खाली भएमा मात्र पढ्न पाइन्छ । भविष्य नै बिग्रिने भयो ।’
सिभिल इन्जिनियरिङ प्रथम वर्षको दोस्रो सेमेष्टरको परीक्षाको तयारीमा रहेकी सचि ताम्राकारको पनि प्रवेश–पत्र नआउँदा परीक्षा दिनबाट बञ्चित हुन पुगेकी छन् । उनले भनिन्, ‘परीक्षा फारम भरेर ढुक्क भएर तयारीमा लागेँ । प्रवेश–पत्र आएन ।’ मेकानिकल इन्जिनियरिङ पहिलो वर्ष दोस्रो सेमेष्टरका तेजबहादुर खत्रीसहित अरविन्दकुमार यादव (मेकानिकल इन्जिनियरिङ), रामविनोद घिमिरे (कम्प्युटर इन्जिनियरिङ), सागर घिमिरे (सिभिल इन्जिनियरिङ) र शैलेन्द्र कुमार (सिभिल इन्जिनियरिङ) को प्रवेश–पत्र नआएको हो ।
विद्यार्थीहरूले क्याम्पस प्रशासनको लापरबाहीका कारण परीक्षाबाट बञ्चित हुनुपरेको भन्दै प्रशासनमा तालाबन्दी गरी क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए । घटनाबारे क्याम्पस प्रशासनले जिम्मा लिनुपर्ने बताउँदै परीक्षामा सामेल गराउन क्याम्पस प्रमुख ओमप्रकाश ढकालले लिखित रूपमा सम्झौता गर्नुपर्ने माग राखेका थिए ।
पीडित विद्यार्थी ऋषभ आचार्यले भने, ‘विगतमा यस्ता समस्या आउँदा क्याम्पस प्रशासनले सूचना प्रकाशन गथ्र्यो । जरिबानासहित पुनः फारम भर्न पाउने व्यवस्था गथ्र्यो । तर, यसपटक क्याम्पसले कुनै सूचना गरेन, अनलाइनमा पनि आएन ।’ उनले डिन कार्यालयमा पनि कुरा गरी लिखित रूपमा परीक्षामा सहभागी गराउन माग गरे पनि सुनुवाइ नभएको बताए ।
उनीहरूले सिस्टमको खराबी र प्रशासनिक लापरबाहीका कारणले विद्यार्थीको भविष्य अन्योल बनाएको दाबी गर्दै क्याम्पस प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूले क्याम्पस प्रशासन र डिन कार्यालयमा बैङ्क भौचरसहित निवेदन, पत्राचार गरे पनि सुनुवाइ नभएको बताएका छन् ।
हाल चार वर्षको दोस्रो सेमेष्टरको परीक्षा ६ गतेदेखि सञ्चालित छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले ६ गते परीक्षा सुरु भएपछि १ जना दुई जना गर्दै ७ जना फारम भर्न छुट भएका विद्यार्थी आएको बताए । उनले प्रवेश–पत्र नआएका विद्यार्थीको फारम रजिष्ट्रेशन नदेखिएको बताए ।
उनले भने, ‘विद्यार्थीले अनलाइन फारम भरेपछि टोकन नम्बर दिन्छ । कुनै पनि विद्यार्थीसँग टोकन नम्बर छैन ।’ उनले भने, ‘फारम भरेको भन्छन्, भरेको देखिँदैन । टोकन नम्बर पनि छैन । टोकन नम्बर नभएपछि फारम भरेको छैन भन्ने बुझिन्छ ।’
उनले पैसा तिरेको रसिदसहित केन्द्रमा पठाएको बताए । उनले परीक्षा नियन्त्रण कार्यालयले ढिलो प्रवेश–पत्र पठाइदिएका कारणले समस्या भएको भने स्वीकार गरे । उनले विद्यार्थीले पनि फारम भर्दा इरर देखाएपछि क्याम्पसमा आएर नबताउनु कमजोरी भएको बताए ।
क्याम्पसमा लगाएको ताला भने आइतबारदेखि परीक्षामा सहभागी गराउने सहमति भएपछि खुलेको छ । क्याम्पस प्रमुख ढकालले भने, ‘मैले आइतबारदेखि परीक्षा गराउने लिखित सहमति गरेपछि ताला खुल्यो । परीक्षा गराएर कापी छुट्टै केन्द्रमा पठाउँछु । केन्द्रले जे निर्णय गर्छ, त्यही हुन्छ ।’ उनले शुक्रबार केन्द्रको परीक्षा समितिको बैठकले ७ विद्यार्थीको समस्या सम्बोधन गर्ने मौखिक सहमति आएको बताए ।
विद्यार्थीले २ कुर्सी जलाउनुका साथै दुई–चारवटा झ्यालढोकाको सिसा तोडफोड गरेका थिए । चौथो वर्ष दोस्रो सेमेष्टरको परीक्षा पनि निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलो सुरु भएको थियो ।