विराटनगर । गैरकानूनी मानिएको अवैध चक्रवर्ती ब्याज (मिटरब्याज) को धन्दा विराटनगरमा बढेको पाइएको छ । गरिबलाई ‘टाट’ पल्टाउने अवैध मिटरब्याजको धन्दा विराटनगरमा एकपछि अर्को गर्दै बढेर गएको हो ।
ऋण लिएको सावाँ र ब्याज तिरिसक्दा पनि मिटरब्याजमा ऋण लगानी समूहबाट पीडित भएको घटना विराटनगरमा आउन थालेको छ । मिटरब्याजबाट पीडित भएको घटना आइरहँदा विराटनगरकी एक जना महिला पनि पीडित भएकी बताएकी छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिका–८ की अञ्जना कोइरालाले मिटरब्याजीबाट पीडित भएको बताएकी छन् ।
छोराको उपचारका लागि उनले मङ्सिर तेस्रो साता विराटनगर–८ कै रुशी एल खानमसँग दुई लाख सापटी लिएकी थिइन् । सापटी लिएको रकम उनले पटक–पटक गरी ५ लाख ६० हजार बुझाएको बताउँछिन् । तर, खानमले उनीसँग अझै ६ लाख रुपैयाँ मागिरहेकी छन् ।
‘छोराको उपचारका लागि दुई लाख लिएर ५ लाख ६० हजार रुपैयाँ तिरिसिकेँ’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अझै ६ लाख र ब्याज तिर्नु भन्दैछन् ।’ खानमले घरमै आएर पैसाको ताकेता गर्दै धम्की दिने गरेको उनको भनाइ छ ।
विराटनगर–८ की सरिताकुमारी महतोले पनि २०७७ फागुन २१ गते जग्गा पास गर्नका लागि खानमसँग सात लाख रुपैयाँ लिएकी छन् । एक वर्षमा उनले सहकारी र व्यक्तिबाट ऋण लिएर खानमलाई ४० लाखभन्दा बढी बुझाइसकेकी छन् । तर, खानमले अझै उनीसँग ३० लाख रुपैयाँ माग गरिरहेकी छन् । ‘३० लाखको जबरजस्ती कागज गरेर मलाई पैसा तिर्न धम्की दिइरहेका छन्’ उनले भनिन्, ‘ऋण तिर्ने बाटो छैन ।’
पैसा माग गर्दै खानमले बारम्बार धम्की दिइरहेको उनले बताइन् । सरिता र अञ्जनासँगै दुईजना मिटर ब्याजमा ठगिएकाहरू पत्रकार सम्मेलनका लागि आएका थिए । तर, खानम पक्षको दबावका कारण उनीहरू बाटोबाटै फर्किए । ‘गाउँमा हामीजस्ता धेरैलाई थोरै ऋण दिएर धेरै पैसा लिएकी छन्’ सरिताले भनिन्, ‘मान्छेहरू बोल्न डराइरहेका छन् ।’
खानमले दुई जनाको कागज विराटनगर महानगरपालिका–८ बाट प्रमाणित गराएकी छन् । कोइरालालाई ६ लाख दिएको कागजमा सरिताकुमारी महतो र पुलुकी कामतलाई साक्षी राखिएको छ । महतोले आफूले कतै साक्षीमा हस्ताक्षर नगरेको बताइन् । ‘म कतै साक्षी बसेको छैन, तर मेरो नाम साक्षीमा रहेछ’ उनले भनिन्,‘ वडा कार्यालयमा झुटो कागज बनाएका छन् ।’
दुई जनालाई ऋण लगानी गर्ने ४४ वर्षीय महिला खानम खानेपानी संस्थान विराटनगरको खरिदार सरहको कर्मचारी हुन् । खानमले भने अप्ठ्यारो परेको बताएपछि ऋण दिएको बताइन् । समस्यामा परेका बेला आफूले सहयोग गरेको बताउँदै उनले ऋण तिर्न ताकेता गर्दा आफूमाथि विभिन्न आरोप लगाएको बताइन् ।
‘मैले जति दिएको छु, त्यति नै रकमको कागज गरेको छु’ उनले भनिन्, ‘म आफै पनि अन्यायमा परेको छु ।’ ऋण नतिरेपछि आवेशमा आएर अञ्जना कोइरालालाई गाली गरेको बताउँदै उनले आफूमाथि अन्याय भएको बताइन् । यसअघि पैसा ब्याजमा लगाई ठगी गर्ने मिटरब्याजी विराटनगर–९ घोघापुल चौकका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार अहिले पुर्पक्षका लागि थुनामा छन् ।
अवैध रूपमा मिटरब्याजमा लगानी गरी ठगी गरेको आरोपमा मोरङ प्रहरीले उनलाई गत मङ्सिर २९ पक्राउ गरेको थियो । मिटरब्याजी मन्टुबाट १६ जनाभन्दा बढी पीडित भएका थिए ।
मन्टुसँग मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोराछोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर, मन्टुले गलत तरिकाले ती स्थानीयवासीलाई ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।