भद्रपुर । गएको स्थानीय तहको निर्वाचनमा बहुमत पाएको एमालेबाट भद्रपुरको नगरपालिकाको आगामी मेयरका लागि तीन जना आकांक्षी देखिएका छन् । जसका कारण नेपाली काँङ्ग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाको गृह नगर समेत रहेको भद्रपुरमा स्थानीय तह निर्वाचनको माहोल तातिएको छ  । 

नेपालकै पुरानो नगरपालिका भद्रपुरमा काँङ्ंग्रेस, एमालेसहितका दलहरु चुनावी घरदैलो अभियानमा हिडिरहेका छन् । भद्रपुर नगरपालिकामा बहुमत रहेको नेकपा एमालेमा आकांक्षीहरु टिकटका लागि माथिल्लो नेतृत्वसँग परामर्श गरिरहेका छन् । अघिल्लो स्थानीय चुनाव एमालेका जीवन कुमार श्रेष्ठले जितेका थिए । ०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले फेरि बहुमत नगुमाउने योजनाका साथ लागिपरेको नेताहरु बताउँछन् । भद्रपुरका प्रभावशाली युवा नेता असारु राजवंशी, वर्तमान मेयर जीवन कुमार श्रेष्ठ र उमपेयर चन्द्रामाया श्रेष्ठको चर्चा शुरु भएको छ ।

अहिले सबै जसो दलमा उम्मेद्वार सिफारिसको चटारो छ । गएको स्थानीय निर्वाचनमा काँङ्ंग्रेसका गणेश पोखरेल ३८ सय २७ मत अन्तरले पराजित भएका थिए भने श्रेष्ठले ११ हजार ४२ मत प्राप्त गरेका थिए ।

पार्टी नेतृत्वसँग कमजोर सम्बन्ध समन्वय गरेका कारण मुख्य प्राथमिकतामा नरहेका मेयर श्रेष्ठको विकल्प खोजी भइरहेको छ । पार्टीमा राम्रो सम्बन्ध नबनाएका कारण आलोचना खेपिरहेका श्रेष्ठ दोस्रो प्राथमिकतामा छन् । आउँदो निर्वाचनमा पहिलो प्राथमिकतमा परेका व्यक्ति असारु राजवंशीको चर्चा वढी हुदै आएको छ ।

नेकपा एमाले झापाका उपसचिव  राजवंशी अनेरास्ववियुको केन्द्रीय सदस्य एवम् मेची इञ्चार्जको जिम्मेवारी सम्हालेका उनी भद्रपुरको पार्टी संयोजक र इञ्चार्ज समेत भइसकेका छन् ।

राजवंशी अघिल्लो निर्वाचनमा पनि मेयरमा मुख्य दावेदार थिए । सबैले मेयरका लागि दवाव दिए पनि राजवंशीले जीवन श्रेष्ठलाई मेयरका लागि प्रस्ताव गरेका थिए । पाइसकेको टिकट श्रेष्ठलाई दिएर पार्टी जिताउने भूमिका निभाएका राजवंशीले यो निर्वाचनमा आफ्नो विकल्प नभएको दावी गर्दै आएका छन् । उनले पार्टी नेतृत्वले यो सन्दर्भमा विवेक पुराउने आशा गरेको सुनाए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गरेका राजवंशीले सोही समयमा भद्रपुरको विकास निर्माणका लागि २ सय करोडको योजना ल्याएका थिए । केन्द्र सरकारबाट भद्रपुरका लागि सहजै विकास ल्याउन भूमिका खेलेका उनले शहरी विकास योजना मार्फत करोडौंको काम गरेका छन् । राजवंशी मेची क्याम्पसका पूर्व स्ववियू सभापति समेत हुन् । 

यस्तै, उपप्रमुख चन्द्रामाया श्रेष्ठ मेयर पदको अर्को आकांक्षी हुन् । वर्तमान उपमेयरमा कार्यरत श्रेष्ठ नेकपा एमाले झापाको उपसचिव हुन् । लामो समयदेखि कानुनी क्षेत्रमा क्रियाशिल श्रेष्ठ उपमेयरका रुपमा परिचित छन् । भद्रपुरको पहिलो कार्यकाल जनप्रतिनिधि र कर्मचारीसँगको विवादैै विवादमा वितेको आरोप छ । बेरुजुमा बलियो भद्रपुर नगरपालिका कार्यसम्पादनमा कमजोर भएको बुझिएको छ ।

यस्तै, उपमेयरमा चारजना आकांक्षी देखिएका छन् । पार्टीको भद्रपुर उपसचिव कौशिला अधिकारी, प्रदेश कमिटी सल्लाहकार सदस्य टिका प्याकुरले, प्रदेश कमिटी सदस्य शुभलक्ष्मी राई र जिल्ला कमिटी सदस्य एवम् भद्रपुर इञ्चार्ज हरि तिम्सिना उपमेयरको आकांक्षीका रुपमा देखिएका छन् । ०७४ को निर्वाचनमा एमालेले पहिलो, काँङ्ंग्रेस दोस्रो, माओवादी तेस्रो र राप्रपाले चौथो मत प्राप्त गरेको थियो ।