धरान/परिवर्तनका लागि सामाजिक अभियानले ‘घरको स्कुल’ कार्यक्रम सञ्चालनका लागि शुक्रबार अभिभावकसँग छलफल गरेको छ । 

धरान–१५ को जनता आधारभूत विद्यालयका अभिभावकहरूसँग छलफल गर्दै आइतबारदेखि ‘घरको स्कुल’ कार्यक्रम सञ्चालन गर्ने भएको हो । स्कुलमा अति विपन्न तथा गरिबका बालबालिकाहरू अध्यापन गर्ने भएकाले विद्यार्थीहरूको पढाइलाई स्तरोन्नति गर्न घरको स्कुलको कायक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । विद्यालय प्रशासनसँग केही सयमदेखि नै यसबारे छलफल हुँदै आएकाले आउँदो आइतबारबाट कक्षा नै सञ्चालन गर्ने गरी घरको स्कुल प्रारम्भ गरिएको बताए । 

social_work_for_school_dharan_15 (2)

घरको स्कुल कार्यक्रमका संयोजक भोजराज श्रेष्ठले भने, ‘पहिलो चरणमा १५ दिनसम्म पढाइनेछ । त्यसमा विद्यार्थीहरूको छनोट प्रक्रिया भने अति कमजोर र अति विपन्नलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’ उनका अनुसार पहिलो चरणमा ३० जना बालबालिकालाई पढाउन लागिएको हो । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरूलाई निःशुल्क रूपमा पढाइनेछ । अभियानले आफ्नै सदस्यबाट रकम सङ्कलन गरेर पढाएबापत दुईजना शिक्षकलाई खर्च दिइने उनले जानकारी दिए । अङ्ग्रेजी, गणित र नेपाली विषय पढाइने भएको हो । 

विद्यालयका प्रधानाध्यापक काजी लामाले स्थानीय तहले चैत २७ गतेबाट वैशाख ७ गतेसम्म परीक्षाको मिति तय गरिएको जानकारी गराएपश्चात् अभियानले पन्ध्र दिन कक्षा सञ्चालन गर्न लागेको हो । अभियानलाई अभिभावकहरूले पनि स्वागत गरेका छन् । उनीहरूले तल्लो कक्षाका विद्यार्थीहरूलाई पनि घरको स्कुलमा समावेश गर्न माग गरेका थिए । 

त्यसक्रममा सहजकर्ता तथा अभियानका सल्लाहकार मोहन श्रेष्ठले अभियानका पदाधिकारीहरू मिली छलफल गरेर तल्लो कक्षाका विद्यार्थीहरूलाई पनि पढाउने व्यवस्था गरिने बताए । उनले भने, ‘यो कार्यक्रम हामीले तपाईं (अभिभावक) का लागि ल्याएका हौं, तपाईंहरूले सहयोग गर्नु भएन् भने हामी सफल हुँदैनौं । तपाईंहरूले आफ्ना बालबच्चालाई पठाएर सहयोग गरिदिनुहोला ।’ जनता आधारभूत विद्यालयका प्रधानाध्यापक काजी लामाले घरको स्कुल कार्यक्रमले विद्यार्थीहरूको पढाइको स्तर बढ्ने बताए ।

उनले अभिभावकहरूलाई नियमित विद्यालयमा विद्यार्थीहरू पठाएर सहयोग गर्न आग्रह गरे । विद्यालयका शिक्षक किशोर राईले पनि अभिभावकहरूले दैनिक आफ्ना बालबच्चाले अध्ययन गरेको विषयबारे अनुगमन गरिदिन आग्रह गरे । कार्यक्रममा अभियानका सदस्य प्रशान्त अग्रवाल, निशान नेपाललगायतको उपस्थिति थियो ।