धरान । धरानको एम्स कलेजका कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गर्दै कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् ।
विभिन्न जातीय पोसाकमा सजिएर आएका विद्यार्थीहरूले नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत तथा सांस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले गरे । उनले विद्यार्थीहरू सधै भविष्यप्रति चिन्तित हुनुपर्ने बताए । कक्षा १२ का विभिन्न सेक्सनका विद्यार्थीहरूले लोक तथा देशभक्ति गीतमा नयाँ विद्यार्थीलाई स्वागत गरे । विद्यार्थीहरू राई, गुरुङ, नेवार, मगर, तामाङ, शेर्पा, लिम्बू, ब्राह्मणलगायत भेषभुषामा सजिएर आएका थिए । उनीहरूले सामूहिक तथा एकल नृत्य प्रस्तुत गरे ।
त्यसक्रममा कक्षा १२ का विद्यार्थीहरूले गीतहरू पनि प्रस्तुत गरे । कलेजमा हरेक वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अग्रज कक्षाका विद्यार्थीहरूले स्वागत गर्ने गरेका छन् । कलेजमा झण्डै ५ सय विद्यार्थीहरू अध्ययरत छन् । कक्षा १२ की विद्यार्थी सदीक्षा लोहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–६ का वडाध्यक्ष भूवनसिंह बस्नेत, हिसान सुनसरीका उपाध्यक्ष राजकुमार राई, १२ नम्बर वडाध्यक्ष टङ्क राई, कलेजका प्राचार्य मित्र तामाङ, विज्ञान सङ्कायतर्फका संयोजक नेत्र सुवेदी, व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक सन्तोष कोइरालाले जानकारी दिए ।