बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका –६ को सडकमा पिकअपको ठक्करबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

मृत्यु हुनेमा सोही स्थानका ५३ वर्षीय कृष्ण प्रसाद निरौला रहेका छन । निरौला पेसामा शिक्षक हुन । स्थानीय पुस्पलाल चोकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न. १–०१००१ च ९१०७ नम्बरको पिकअपले महानन्दचोकबाट मर्निङ वाक गर्दै पुष्पलाल चोक तर्फ जादै गरेका निरौलालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीसँगै मर्निङ गरिरहेकी निरौलाकी पत्नी सरस्वती लुइँटेल निरौला र खुदुनाबारी घर भइ हाल महानन्द चोक बस्ने अर्जुन उप्रेती  पनि घटनामा परी घाइते भएका छन । उप्रेतीको झापाको बिर्तामोड स्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ भने सरस्वती को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यका अनुसार पिकअप चालक दिनेश गहतराज भने फरार रहेका छन् । आफु सो पिकअपको चालक भएको भन्दै प्रहरीको सम्पर्कमा पुगेका अर्जुन नेपालीलाई भने नियन्त्रणमा लिएको जानकारी उनले दिए ।