धरान/परिवर्तनका लागि सामाजिक अभियानले धरान(१५ को जनता आधारभूत विद्यालयमा ‘घरको स्कुल’ कार्यक्रम सुरु गरेको छ । 

अभियानले यसअगि शुक्रबार अभिभावकसँग छलफल गरेको थियो । कक्षामा अति कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै ‘घरको स्कुल’ कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । उनका अनुसार पहिलो चरणअन्तर्गत पन्ध्र दिनसम्म विद्यार्थीहरूलाई घरको स्कुलमा अतिरिक्त पठनपाठन गराइनेछ । तीन कक्षादेखि माथि ५ कक्षासम्मका ३० जना विद्यार्थीलाई घरको स्कुलमा सहभागी गराइएको कार्यक्रम संयोजक भोजराज श्रेष्ठले जानकारी दिए । 

३० जना विद्यार्थीमध्ये अति कमजोरलाई फरक कक्षामा र केही जान्ने विद्यार्थीहरूलाई फरक कक्षामा राखेर दुईजना शिक्षिकाले अध्यापन गराइरहेको संयोजक श्रेष्ठले जानकारी दिए । घरको स्कुलमा सहभागी बालबालिकाहरूलाई निःशुल्क पढाइनेछ । अध्यापनका सहयोगी शिक्षिकालाई भने अभियानले आफ्ना सदस्यहरूबाट रकम सङ्कलन गरेर अध्यापन खर्च दिइने जनाइएको छ । 

आउँदो चैत २७ गतेदेखि वैशाख ७ गतेसम्म स्थानीय सरकारले फाइनल परीक्षा राखेका कारणले पहिलो चरणमा पन्ध्र दिन पढाइ हुने अभियानका सदस्य प्रशान्त अग्रवालले बताए । त्यसपछि आउँदो जेठबाट अर्को कक्षा सञ्चालन गरिने भएको छ । हाल गणित, अङ्ग्रेजी र नेपाली विषयको कक्षा सुरु गरिएको हो । अभियानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा ‘सामाजिक स्वास्थ्य क्लिनिक’ सञ्चालन गरिरहेको छ ।