धरान । सुनसरीको इटहरी नगरपालिका–२ हलगडामा बेवारिसे अवस्थामा झोला भेटिएपछि ‘बमको आशंका’मा स्थानीय त्रसित बनेपछि नेपाली सेनाको टोलीले सर्च गर्दा खाद्य वस्तु रहेको पाइएको छ । 

सेनाको डिस्पोजल टोलीले अनुसन्धान गरी डिस्पोज गर्न लाग्दा ‘सख्खर, मटर (गेडागुडी) र साडी’ रहेको पाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काका अनुसार ट्रकमा आएका एकजनाले चिया पसलेलाई एक महिला आएर सामान लाने भन्दै छाडेर गएपछि उक्त सामान लिन नआएपछि शङ्काउपशङ्काका आधारमा प्रहरीलाई खबर आएको थियो । सोहीअनुसार नेपाली सेनाको टोलीले जाँच गर्दा खानेकुरा रहेको पाइएको उनले जानकारी दिए ।

‘सामान लिन मान्छे नआएपछि शङ्का, उपशङ्काका आधारमा प्रहरीलाई खबर आयो’ उनले भने, ‘आर्मी बोलाएर क्लियर गरिसक्यौं ।’ सोही ठाउँमा एक साताअगि बम विस्फोट भएको थियो । उक्त बिस्फोटका कारण पनि जनमानस त्रसित बनेका छन् । स्थानीय चुनाव नजिकिँदै आइरहेकाले पनि मानिसहरूमा शङ्काउपशङ्का उब्जिएको हो ।