विराटनगर । प्रदेश १ सरकारको प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बोर्डको उपाध्यक्षमा उपाध्यक्ष विराटनगरकी जीना कार्की र सदस्य सचिवमा ओखलढुङ्गाका हंसराज वाग्ले लाई नियुक्त गरेको हो । नियुक्त भएकी कार्की र वाग्लेले मंगलबारनै पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई पदमुक्त गरेको थियो । मेयाङ्बो र बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम प्रसाद आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरू नियुक्त गरेका थिए ।
सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिम साता मेयाङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए । उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई मन्त्रीपरिषद्को बैठकले हटाएको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गर्ने निर्णय गरेको छ । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला(सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का(मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको यातायात तथा संचारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।