विराटनगर । क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउने गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष अभियान चलाएर क्षमता भन्दा बढी विद्यार्थी राखेर चलाउने सवारी साधनहरू कारबाही गरेको हो ।

मोरङ ट्राफिकले बुधबारदेखि विराटनगरको कलेज बसहरूको चेकजाँचमा कडाइ गरेको छ । चेकजाँचको क्रममा ट्राफिक नियमको उल्लङ्घन गरी कलेज बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर विद्यार्थी ल्याउने गरेको पाइएपछि दुई दिनमा १९ वटा कलेज बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

‘कलेज बसको क्षमता ३९ रहेको हुन्छ । तर, विद्यार्थीहरू क्षमताभन्दा बढी राखेर ल्याउने गरेको हुन्छ ।

यसरी क्षमताभन्दा बढी विद्यार्थी ल्याउँदा जोखिम हुने गर्दछ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यसरी क्षमताभन्दा बढी विद्यार्थी बोक्ने कलेजका प्रमुखहरू  र विद्यार्थीहरूलाई पनि सचेत पनि गराउने गरोका छौँ ।’ क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बुधबार ८ र बिहीबार ११ वटा  कलेजका बसहरू कारबाही गरिएको उनले बताए ।

‘क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी चलाउने कलेज बसको चेकजाँच गर्ने तीन दिन अभियान नै सुरु गरिएका छौँ,’ उनले भने, ‘कलेज बसपछि अब स्कुल बसहरूमा पनि यसरी चेकजाँच गर्नेछौँ । क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिए कारबाहीको दायरामा ल्याउनेछौँ ।’

मोटरसाइकलमा कलेज आउने विद्यार्थीहरूले पनि ट्राफिक नियम उल्लङ्घन गरेको भेटिएपछि दुई दिनमा ५० वटा मोटरसाइकल कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरूले सवारी चालक अनुमति पत्र बेगार सवारी कुदाएको भेटिएपछि बुधबार र बिहीमार ५० वटा मोटरसाइकल कारबाही गरिएको छ ।