धरान । कुनै बेला अन्य विद्यालयमा ‘मर्ज’ गर्ने तयारी भएको मोरङ मिक्लाजुङ गाउँपालिका–१ को सिर्जना आधारभूत विद्यालय अहिले नमुना विद्यालयका रूपमा परिचित बनेको छ ।

कविसमेत रहेका स्थानीय हेमन यात्रीको पहलमा अहिले विद्यालय नमुना बनेको हो । तीनजना विद्यार्थीमा सीमित भएपछि स्थानीय सरकारले पनि अन्य विद्यालयमा ‘मर्ज’ गर्ने तयारी थालेको थियो । त्यसबेला स्थानीयले विरोध गरेपछि अहिले विद्यालयले रूप फेरेको छ । यात्री भन्छन्, ‘सरकार आफै विद्यालय बन्द गर्नुपर्छ भनेर आएको अवस्थामा सरकारले सहयोग गर्ने कुनै वातावरण नै भएन, विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भनेर स्थानीयस्तर तथा व्यक्तिगत रूपमा सहयोग उठाएर हाल विद्यालयको अवस्थामा रूपान्तरण आएको हो ।’

विद्यालय पुनःनिर्माणका लागि देशविदेशमा रहेका सहयोगीबाट अहिले पुनर्निर्माण भएको छ । देशभित्र र बाहिर रहेका कवि, लेखकहरूबाट प्राप्त रकमले विद्यालयले नयाँ रूप धारण गरेको हो । कवि यात्रीका अनुसार झण्डै ६ लाख रुपैयाँ लागतमा अहिले विद्यालयको मुहार फेरिएको छ ।

गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा विभागका प्रमुख काशीनाथ खनाल लगायतको टोलीले विद्यार्थीको अवस्था देखेर मर्जका लागि स्थानीयलाई दबाव दिएका थिए । यतिसम्म कि विद्यालय बन्द गर्नसमेत दबाव दिएको उनले सुनाए । तर, अहिले अवस्था फरक छ । अहिले उक्त स्कुलको संरचना नै निजी स्कुलको जस्तो भएको छ ।

‘सङ्कटमा रहेको विद्यालय र विद्यार्थीको भविष्य उज्यालो बनाउनका लागि सहयोग अभियान थालेर विद्यालयले नयाँ रूप पाएको छ’ यात्रीले भने, ‘चार महिनासम्म निरन्तर म आफैले पनि श्रम गरेर विद्यालय आजको अवस्थामा आइपुगेको हो, तीन वर्षअघि स्थानीय सरकारले बन्द गर्नुपर्छ भनिएको विद्यालयको परिवर्तित रूप देखेर अहिले धेरैजसो मानिसले विश्वासै गर्दैनन् ।’

अहिले विद्यालयमा ६ थान कम्प्युटरसहित एउटा एलइडी टिभी पनि जडान गरिएको छ भने जसबाट ‘प्ले–ग्रुप’ मा अध्ययनरत विद्यार्थीहरूलाई मनोरञ्जनसँगै सिकाइको अध्याय अगाडि सारिएको छ ।

बुधबार विद्यालयको २८ औँ वार्षिकोत्सव मनाइएको थियो । त्यसक्रममा गाउँपालिका अध्यक्ष आचार्यले भने, ‘तीन वर्षअगाडि विद्यालय बन्द गर्नुपर्छ भनेर हामीले सोचेका थियौँ, आज आएर विद्यालयको जुन प्रगति भएको छ, यो हाम्रो सोचभन्दा परको कुरा हो ।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनालले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने पालिकाकै योजनाअन्तर्गतको कार्यक्रम भए पनि कतिपय विद्यालयहरूमा पुर्याउन नसकिएको सन्दर्भमा यस विद्यालयमा अभिभावकहरूको आफ्नै सक्रियतामा यसरी शैक्षिक गुणस्तरको वृद्वि हुने गरी काम हुनु सकारात्मक छ ।’ हाल झण्डै ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।