विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सुकुम्बासी बस्तीमा सुकुम्बासीहरूलाई जग्गा दिने प्रलोभन देखाएर लाखौं रुपैयाँ असुली गरेको पाइएको छ ।
विराटनगर–८ हाटखोलास्थित जेलपछाडिको सुकुम्बासी टोल बस्ती र अशोक चोकदेखि पूर्वपट्टिको सुकुम्बासी टोल बस्तीका सुकुम्बासीहरूलाई जग्गा दिने भन्दै एक समूहले लाखौं रुपैयाँ असुली गरेको पाइएको हो । विराटनगरको ८, १२ र १४ नम्बर वडाका १ सय ८० भन्दा बढी सुकुम्बासीहरूलाई जग्गा पदने प्रलोभन देखाई १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म असुली गरेको कागजपत्र फेला परेको छ ।
‘जमिन दिन्छ रे भनेपछि ५ सय रुपैयाँ दिएँ’ विराटनगर–८ की तेतरी मुखियाले भनिन्, ‘म अर्काको घरको भाँडावर्तन माझ्छु, मेरा श्रीमान् आँखा देख्नुहुन्न ।’ सोही ठाउँकी कल्धरु राजवंशीले भनिन्, ‘सबैलाई जग्गा दिने भनिरहेको छ, आउनू न भनेर मेरो बुहारीले बोलाइन् । मसँग नागरिकताको फोटोकपी र ५ सय रुपैयाँ माग्यो । मैले दिएँ, उनीहरूले रसिद दिएर गए ।’
सोही ठाउँकी विमला सहनीले थपिन्, ‘मेरो गाउँमा थुप्रै जनाले पैसा दिएका छन्, ५–५ सय रुपैयाँ लिएको छ ।’ ठगीमा परेका यी प्रतिनिधि पात्र हुन् । विराटनगरमा एमाले निकटको सुकुम्बासी सङ्गठन नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको नाममा २ वर्षदेखि सुकुम्बासीको घर–घरमा चन्दा सङ्कलन अभियान नै चलाएको पाइएको छ । जनही पाँच सयको दरले सुकुम्बासीहरूबाट लाखौं रूपैयाँ असुली गरेको पाइएको हो ।
बुधबार विराटनगर–८ को वडा कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा सुकुम्बासीलाई भूमि आयोगबाट जग्गा सरकारले वितरण गर्ने भनेपछि फारम भरेर भूमि आयोगमा बुझाउने कुरा भयो । वडा कार्यालयले पनि सबै सुकुम्बासीलाई खबर गर्यो ।
‘त्यसपछि थाहा भयो कि नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनका विराटनगर संयोजक बुद्धिमान लिम्बूले त्यसअगाडि नै सुकुम्बासीको घर–घरमा पुगेर पैसा लिँदै कार्ड दिँदै गरेका रहेछन्’–स्थानीय जहाँगिर सद्दाम हुसेनले भने । विराटनगर–८ का वडाध्यक्ष निश्चल अर्यालले आफ्नो कार्यालयमा १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म सुकुम्बासीबाट रकम लिएर जग्गा दिने प्रलोभन दिएको रिपोर्ट आएको बताए ।
वडासचिव मनोज मल्लिकले जग्गा दिन्छु भन्दै कार्ड वितरण गरेको पाइएको बताए । ‘वडाका मानिसले हाम्रो जग्गा हुँदाहुँदै पनि जग्गा पाइन्छ भनेर कार्ड दिएको पाइएको छ’ उनले भने, ‘२ सय बढी मानिसहरू वडा कार्यालय घेर्न आएका थिए । जग्गाधनीलाई पनि जग्गा दिन्छु भन्दै ५ सय रुपैयाँ लिएको पाइएको छ ।’
सुकुम्बासी सङ्गठनका विराटनगर अध्यक्ष बुद्धिमान लिम्बूले पनि आफूले झण्डै १ हजार वटा रसिद वितरण गरिसेकको बताए । त्यसबाट लगभग ५ लाख रुपैयाँ सङ्कलन भएको स्वीकार पनि गरे । ‘जिल्लाका नेताहरूले भनेर सहयोग रकम उठाएको हुँ, उठेको पैसाबाट अधिवेशन गर्ने, सङ्गठनको मिटिङ बैठक गर्न खर्च हुन्छ’ उनले भने, ‘सुकुम्बासीबाट १ सय रुपैयाँ चन्दा लिने सङ्गठनकै निर्णय हो, ८ सयसम्म चन्दा लिएका छौं ।’
छलफलका लागि वडा कार्यालयमा बोलाएपछि पुगेका लिम्बूले आफूले सुकुम्बासीबाट चन्दा लिएर गल्ती गरेको भन्दै क्षमायाचना गरे । ‘मलाई पनि जिल्लाका नेताहरूले सहयोग रकम उठाउनू भनेर निर्देशन दिएपछि उठाएको हुँ, १ हजारभन्दा बढी बाँडियो होला’ उनले भने, ‘विराटनगरको वडा नम्बर ८, १२ र १४ का सुकुम्बासीहरूलाई रसिद बाँडेको हो ।’
उक्त वडामा सुकुम्बासी आयोगले आह्वान गरेअनुसार १ सय ८० जनाको हाराहारीमा सुकुम्बासीले फारम भरेको वडाध्यक्ष अर्यालको भनाइ छ । उनले सुकुम्बासीलाई सरकारी सेवा सुविधा दिँदा पनि कुनै शुल्क नलिनू भन्ने रहेको बताए ।
‘सुकुम्बासीलाई सेवा दिँदा सरकारी कार्यालयले कुनै शुल्क लिँदैन, तर यहाँ सुकुम्बासीकै सङ्गठनको नाममा घरलौरी चन्दा उठाउनु गैरकानूनी हो’ अर्यालले भने, ‘हामीले चन्दा उठाउने लिम्बूलाई सचेत गराएका छौं र उठाएको सबै पैसा फिर्ता दिन आग्रह गरेका छौं ।’