धरान । धरान १ स्थित अपाङ पुनस्र्थापना गृहमा आश्रित असहाय तथा अपाङहरूको जन्मदिन मनाउने क्रममा आइतबार महेन्द्र राईको जन्मदिन मनाइएको छ ।
२८ औं वर्षमा प्रवेश गरेका उनको सेवक अभियानले जन्म दिन मनाइदिएको हो । सेवक अभियानको नियमित कार्यक्रमअन्तर्गत यसपटक महेन्द्र राईको जन्मोत्सव मनाइएको अभियानका अध्यक्ष राजीव हलुवाईले जानकारी दिए । उनको अभिभावकत्व ग्रहण गरेका धरान ३ का दाता अनोद श्रेष्ठले बर्थडे केकसहित खानाको प्रबन्ध गरेका थिए ।
प्रदेश १ की सांसद सावित्री जोशीको उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी मिडियाकर्मी मोहन श्रेष्ठले कार्यक्रमको प्रशंसा गरे । गृहमा रहेका २१ जनाको जन्मोत्सव मनाइसकेको अध्यक्ष हलुवाईले बताए । प्रत्येक असाहाय व्यक्तिलाई दाताहरूले अभिभावकत्व ग्रहण गरेका छन् । यस कार्यक्रमको सुरुवात २०७८ वैशाख ६ गतेदेखि गरिएको कार्यक्रमका मूल संयोजन दीप श्रेष्ठले बताए । गृह प्रमुख भीम राइले दातालगायत सबैमा धन्यवाद ज्ञापन गरे ।