बिर्तामोड । प्रधानाध्यापकको लापरबाहीका कारण तलब नपाएपछि झापाको बिर्तामोड–१० स्थित एक विद्यालय प्रशासनमा शिक्षक र कर्मचारीले ताला लगाएका छन् । तलब नपाएका शिक्षकले विराट आधारभूत विद्यालयको प्रशासन कार्यालयमा ताला लगाएका हुन् ।
प्रधानाध्यापक बद्री बाँस्कोटाको कारण विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरूको तलब रोक्का भएको आरोप उनीहरूको छ । विद्यालयमा कार्यरत २२ जना शिक्षक कर्मचारीहरूले तलब नपाएको उनीहरूले बताएका छन् । उनीहरूले चैत २० गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यालय प्रशासन, वडा कार्यालय र नगर शिक्षा शाखालाई समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण–पत्र बुझाएका थिए ।
तर, आफूहरूको समस्याप्रति कुनै पक्ष गम्भीर नभएपछि तालाबन्दी गर्नुपरेको शिक्षकले बताएका छन् । उनीहरूले प्रशासनमा तालाबन्दी गर्दासमेत सुनुवाइ नभए मङ्गलबारदेखि पठन–पाठन ठप्प पार्ने र आगामी वैशाख ४ गतेदेखि हुन लागेको वार्षिक परीक्षा पनि सञ्चालन नगर्ने चेतावनी दिएका छन् । विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रधानाध्यापक बाँस्कोटाले दुई वर्षदेखिको विद्यालयको लेखा परीक्षण र सामाजिक परीक्षणको रिपोर्ट नबुझाएको बताइएको छ । यसबारेमा नगर शिक्षा शाखाले सोधेको स्पष्टीकरणको जवाफ नदिँदा शाखाले सम्पूर्ण शिक्षकको तलब रोक्का गरेको हो ।
आफूहरूले अघिल्लो महिनाको १५ गते नै लेखा र सामाजिक परीक्षणको रिपोर्ट ल्याउन भन्दा नल्याएको र सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि तलब रोक्का गर्नुपरेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए ।
उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले त्यसबारे लिखित प्रतिबद्धता जनाए तलब निकासाका लागि पहल गर्न सकिने आश्वासन दिए ।
प्रधानाध्यापक बाँस्कोटा चैत १६ गतेदेखि बिदामा बसेका छन् । आफू बिरामी भएकाले बिदामा बसेको बताउँदै उनले शिक्षकहरूको तलब निकासा गर्न र तालाबन्दी खोल्न पहल भइरहेको जानकारी दिए । उनले अस्वस्थताका कारण नगर शिक्षा शाखाले मागेको रिपोर्ट दिन नसकेको बताए । विद्यालयले २०७६/०७७ र २०७७/०७८ को लेखा परीक्षण रिपोर्ट बुझाएको छैन ।