धरान । धरान–१५ को केके इन्टरनेसनल स्कुलमा रोबोटिक्स प्रयोगशाला उद्घाटन गरिएको छ ।
प्रयोगशालाको उद्घाटन धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरिन् । त्यस क्रममा विद्यार्थीहरूबीच रोबोटिक्स प्रतियोगिता पनि सम्पन्न गरिएको स्कुलका अध्यक्ष प्रवीण अग्रवालले जानकारी दिए । उनका अनुसार कोडिङ प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा विजेताहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ ।
रोबोटिक्स प्रयोगशालाका संयोजकमा अनिश ताम्राकार र अनिश श्रेष्ठ रहेका छन् । प्रयोगशाला उद्घाटनका क्रममा रोबोटिक्स परियोजनाबारे विद्यार्थीहरूले आ–आफूले निर्माण गरेका रोबोटिक्सका कार्यबारे जानकारी गराएको स्कुलका निर्देशक अशोक अग्रवालले जानकारी दिए ।
त्यस क्रममा विद्यार्थी आयुष भगतले अवरोध हटाउँदै कसरी कारको दूरी हटाउन सकिन्छ भन्ने विषयमा अल्ट्रासोनिक साउन्ड सेन्सर प्रयोग गरेको बताए । उनले अवरोधलाई हटाउनका लागि कारले अर्को दिशामा स्टेयरिङ गरेर बेवास्ता गर्न सक्ने क्षमता रहेको बताए ।
त्यस्तै कृष खड्काले आरएफआइडीमा आधारित पहुँच नियन्त्रण परियोजना प्रदर्शन गरेका थिए । आरएफआइडी रिडर मोड्युल र आरड्युनोको प्रयोग गरी केवल आधिकारिक आरएफआइडी कार्ड भएका प्रयोगकर्तालाई मात्रै ढोकाबाट प्रवेश अनुमति दिने खड्काले जानकारी दिए ।
तेस्रो परियोजना प्रस्तुत गर्दै प्रवीण लिम्बूले भने, ‘ब्लुटुथ नियन्त्रित कार यो परियोजना टाढाबाट नियन्त्रित कारसँग सम्बन्धित छ । यसले कार र नियन्त्रकबीचको इन्टरफेस गर्न ब्लुटुथ प्रयोग गर्दछ ।’ साथै परियोजना ४ अन्तर्गत सिसाङ चौधरीले ड्रोनको प्रयोगबारे जानकारी गराएका थिए । कार्यक्रममा स्कुलका प्रिन्सिपल डा. पिटरलगायतको उपस्थिति रहेको थियो ।