धरान । कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएको कक्षा ११ को परीक्षा यस वर्ष भने जेठको तेस्रो साता गर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ ।

शैक्षिक वर्ष २०७८ मा कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन गर्नका लागि निर्देशन दिएको हो । जेठमै कक्षा १२ को परीक्षासमेत रहेको छ । कक्षा १२ को परीक्षासँग नजुध्ने गरी परीक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

बोर्डको निर्देशनअनुसार विद्यालयहरूले परीक्षा तालिका सार्वजनिक गर्ने भएका छन् । बोर्डले जारी गरेको सूचनामा शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेशन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेशनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

बोर्डका अनुसार प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयमार्फत् विद्यार्थीको परीक्षाको सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने जनाइएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित विद्यार्थीलाई सिम्बोल नम्बर सम्बन्धित विद्यालयले नै दिने जनाएको छ । विद्यालयले भने बोर्डबाट लिनु पर्नेछ ।