धरान । चुनावी माहौल तातिएसँगै सुनसरीमा मदिरा खपत बढेको छ । मदिरा खपत बढेसँगै कतिपय तठस्थ मतदाताको भोट रक्सी र मासुमा साटिन थालेको अनुमान छ ।

अरूबेलाको तुलनामा वैशाख दोस्रो सातादेखि १५ प्रतिशत बढी मदिरा बिक्री बढेको मदिरा व्यवसायीहरू बताउँछन् । उनीहरूले स्थानीय तहको चुनावी माहौलका कारण राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारमा सहयोग गर्ने कार्यकर्ता र अन्य तठस्थ मतदतामा मदिरा प्रयोग भइरहेको हुनसक्ने बताए ।

मदिरा व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष नवीन तामाङले स्थानीय तहको चुनावी सरगर्मी बढेसँगै अरू बेलाको तुलनामा १५ प्रतिशत बढी मदिरा बिक्री भएको बताए । उनका अनुसार धरान, इटहरी, इनरुवा, कोसी ब्यारेज र साना बजार क्षेत्रमा सबैभन्दा बढी मदिराको माग बढेको छ ।

चैत महिनामा मदिराअन्तर्गत वियरमात्र सुनसरीमा २४ करोड २७ लाख रुपैयाँ बढीको बिक्री भएको थियो । यसैगरी रक्सीमात्र ४२ करोड ८८ लाख रुपैयाँको खपत भएको थियो । चुनावी माहौल तातिएपछि यो वैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्ममा अतिरिक्त १५ प्रतिशत बढी खपत हुने सङ्घका अध्यक्ष तामाङले बताए ।   

सुनसरीका १२ स्थानीय तहमध्ये दुई उपमहानगर धरान र इटहरी, चार नगरपालिका वराहक्षेत्र, दुहबी, इनरुवा र रामधुनीका, ६ गाउँपालिकाहरू बर्जु, कोसी, भोक्राहा नरसिंह, गढी, हरिनगरमा विभिन्न दलबाट र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रचार–प्रसारमा दिनभर खट्ने कार्यकर्ताले बेलुका भएपछि रक्सी, वियर, मासु नै खाने भएकाले मदिराको खपत बढेको हो ।

धरानमा गोरखा ब्रुअरीका विभिन्न ब्राण्डका वियर मात्र गर्मी महिना मानिने चैत, वैशाखमा सरदर मासिक १० हजारदेखि ११ हजार कार्टुन अर्थात् करिब ५ करोड रुपैयाँको खपत हुने गरेको डिलर विष्णु नेहा इन्टरप्राइजेजका सञ्चालक मनोज तखाँछेले बताए ।

राजनीतिक दलको चुनावी प्रचारमा खटेका एक युवकले भने, ‘दिनभरि खटेर साँझ परेपछि थकान त मेट्नै पर्यो नि ।’ चुनावी प्रचारमा उम्मेदवारसँगसँगै एकैसाथ सयौं कार्यकर्ताहरू खटिरहेका हुन्छन् । कमैले मात्र घरमा गएर खाने गरेका छन् ।

सुनसरीमा रक्सी र वियर खपत बढी हुनुमा कार्यकर्ताले मात्र नखाएर भोट तान्नका लागि पनि रक्सी र वियर प्रयोग हुने गरेको छ । चुनावको माहौल सुरु भएयता धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनीलगायतका बार, भट्टीपसल साँझ परेपछि भरिने गरेका छन् । चुनावको बेला रक्सी र मासुको अत्यधिक प्रयोग हुनु निर्वाचन आचार–संहिता उल्लङ्घन हो ।

तर, नियमन गर्ने निकाय मौन भइदिँदा कतिपय तठस्थ भोट रक्सी र मासुमै साटिने सम्भावना पनि बढ्छ । सुनसरी निर्वाचन आयोगले भने मतदान हुने दिन वैशाख ३० गतेमात्र होटल बन्द गर्ने निर्णय गरेको छ ।