धरान । मोरङको कटहरी गाउँपालिका ४ जामुनगाछीमा को २० प ८६६८ नम्बरको मोटरसाइकलबाट खसी गम्भीर घाइते बनेकी विराटनगर १५ की ५२ वर्षीया मीनादेवी साहको मृत्यु भएको छ ।

रंगेली विराटनगर सडकखण्डमा बिहीबार मोटरसाइकलबाट झरेकी उनलाई तत्काल उपचारका लागि कोसी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय पवनकुमार साहलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीको भोक्राहानरसिंह गाउँपालिका १ ढोगस्थित भित्रीसडक खण्डमा सडकबाट खेलिरहेको बच्चालाई मोटरसाइकलले ठक्कर दिँदा दुई वर्षीय बालक घाइते बनेका छन् । सोही ठाउँका गोविन्द मेहताका २ वर्षीय छोरा आयुशलाई ठक्कर दिँदा घाइते बनेको हो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार को ९ प ८५६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालक आयुश घाइते बनेका थिए । हाल उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुनसरी हरिनगरा गाउँपालिका २ भुटाहाका ४० वर्षीय अजमल अन्सारीलाई प्रहरीसँगको सम्पर्कमा रहेको जनाइएको छ ।