इटहरी । हेमकर्ण पौडेल तिनै व्यक्ति हुन्; जो जनता बहुमुखी क्याम्पस इटहरीमा अखिलसँग विद्रोह गरी अखिलको ‘रापताप’ समाप्त पारेका थिए । तिनै पौडेलले एमालेको आधार क्षेत्र इटहरीमा पहिलो पटक वर्चश्वशाली जित हात पारेका छन् ।

इटहरी उपमहानगरपालिकाको प्रमुखमा एमालेका प्रभावशाली नेता यामकुमार सुब्बालाई पराजित गर्दै नेपाली काङ्ग्रेसका पौडेल विजयी भएका हुन् । गाउँ विकास समिति हुँदा होस् वा नगरपालिका हुँदा होस्, साथै उपमहानगर हुँदा पनि एमालेले नै जितेको थियो ।

२०४९ सालमा गाउँ विकास समिति, २०५३ सालमा नगरपालिका र २०७१ सालमा उपमहानगर भएपश्चात् पनि इटहरीमा एमालेले जित हात पारेको थियो । तर, यसपटक एमालेको विजय रथलाई ‘लगाम’ लगाउन उनी सफल भएका छन् ।

मतदाताहरूका अनुसार एउटै दललाई मत दिँदा नेतृत्व दम्भी र अहङ्कारी भयो । इटहरीमा जसलाई उठाए पनि जित्छ भन्ने घमण्ड तोड्न काङ्ग्रेसका युवा नेता हेमकर्ण सफल भएको मतदाताको भनाइ छ । उपप्रमुखमा एमालेकी सङ्गीताकुमारी चौधरी निर्वाचित भइन् ।

सुब्बालाई ५ हजार १८ मतान्तरले पछि पार्दै पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी बनेका थिए । सुब्बाले २८ हजार ३१ मत ल्याएका थिए । उपप्रमुख चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याई विजयी बनिन् ।

लालकिल्लामाथि लगाम
२०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापतिमा जितेर पौडेलले स्ववियुमा ‘अखिल राज’ अन्त्य गरेका थिए । २०३५ साउन ५ गते झापा कोरोबारीमा जन्मिएका उनी विद्यार्थीदेखि नै राजनीतिमा संलग्न थिए । तर, उनी विद्यार्थीकालमा अखिल राजनीति गरे पनि स्ववियु चुनावमा उनीमाथि घात भएपछि नेपाल विद्यार्थी सङ्घको प्रतिनिधित्व गर्दै सभापतिमा लडेका थिए ।

जतिबेला उनले पहिलो पटक नेविसङ्घको पोल्टामा जित हात पारेका थिए । भाषण कलामा निपुण पौडेलले इटहरीमा एक छत्र राज गर्दै आएको एमालेमाथि हाबी भए । दिनरात जनताकै घरदैलोमा सक्रिय पौडेललाई यसपटक इटहरीका जनताले पत्याएका छन् । उनी हक्की स्वभावका नेता मानिन्छन् ।

जनता क्याम्पसमा स्ववियु जितेपछि उनी नेविसङ्घको जिल्ला सदस्य तरुण दल सुनसरीको सचिव भए । पौडेलको राजनीतिक यात्रा २०५७ सालपछि अझ सशक्त भयो । काङ्ग्रेसको इटहरी नगर सभापति निर्विरोध निर्वाचित भएपछि केन्द्रीय तहसँग उनको पहुँच बढ्दै गयो ।

‘जनभावनाअनुसार काम गर्छु’
इटहरीवासीको जनभावना अनुरूप, यहाँको माग र आवश्यकता बमोजिम विकास निर्माण, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र संस्कृति संरक्षणमा काम गर्ने उनले बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक समुदाय बसोबास गरेको इटहरीलाई समृद्ध सहर बनाउन ‘रोडम्याप’ रहेको उनले बताए ।

नगर प्रशासनले सेवाग्राहीलाई दिने सेवा छिटो, छरितो र झन्झटरहित बनाउँदै सिंहदरबारको अधिकार वडा–वडामा आएको अनुभूति गराउने उनले बताए । इटहरीको मुख्य समस्या बर्सेनि आउने बाढी र डुबानमा ठोस पहल चाल्ने उनको दाबी छ । आगामी ५ वर्षभित्र इटहरी नेपालकै नमुना र समृद्ध सहरका रूपमा विकास गर्ने उनी बताउँछन् । उनले एमालेका घोषणा–पत्रलाई पनि समेटेर अगाडि बढ्ने बताए ।