बिर्तामोड । दुइबर्षमा निर्माण गर्नुपर्ने सर्तमा २०७५ असारमा ठेक्का सम्झौता भएको सुगम झापाको एउटा सडक हालसम्म निर्माण पुरा भएको छैन । ठेकेदार संस्थाको लापरवाहीका कारण यो सडक निर्माण हुन नसकेको हो । सडक निर्माण नहुँदा शनिश्चरे–खुदुनाबारी हुँदै इलामसम्म जाने यात्रु पीडित भएका छन् । सडक आसपासमा घर हुने स्थानीय त धुलोका कारण झनै समस्यामा छन् ।
२०७५ असार २७ गते शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्न ‘डि कञ्चनजंघा–शेर्पा–कञ्चानजंघा’ जेभीले ठेक्का लिएको थियो । शुरुवातको समयमा सडक निर्माणको काम द्रुत गतिले भएपनि सम्बन्धित निकायले समयमा रकम निकासा नगरेको भन्दै ठेकेदार संस्थाले काम रोकेको थियो ।
शुरुमा ‘र्याप थ्री’ नामको दातासंस्थाले सडक निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । पछि उसले कार्यक्रम ‘फेज आउट’ भएको भन्दै हात झिक्यो । त्यसपछि प्रदेश सरकारको सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयले सो सडक बनाउने जिम्मा लियो । मन्त्रालयले समयमा रकम निकासा गर्न आनाकानी गर्दा समयमा सडक निर्माण गर्न नसकिएको ठेकेदार संस्थाको दावी छ ।
९ करोड १० लाख ६ हजार ९५५ रुपैंयाँमा २०७८ असार २६ गते सम्पन्न गर्नुपर्ने गरी सडक निर्माणका लागि ठेक्का लागेको थियो । काम सम्पन्न गरेपछि रकम निकासा हुने सम्झौता अनुसार ठेकेदार संस्थाले ७ करोड १० लाख ८० हजार रुपैंयाँ लगेको पुर्वाधार विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । गुणस्तरीय नभएपनि समयमा रकम निकासा नभएको भन्दै काम बन्द गर्दा त्यो बाटो हुँदै यात्रा गर्ने यात्रु र स्थानीय पीडित बनेका हुन् । यतिेबेला कालोपत्रे गरेको सडकसमेत भत्किन थालेको छ ।

‘समयमा काम सक्न हामीले पत्र काट्यौं, फोन गर्याैं, पत्रिकामा सूचना समेत प्रकाशन गर्याैं, झापास्थित पुर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेसकुमार मण्डलले भने–‘अब यि तीनवटै निर्माण कम्पनिलाई कालोसुचिमा राखेर कारवाही गर्नका लागि सिफारिस गर्नुको हामीसँग बिकल्प छैन ।’ निर्माणको जिम्मा लिएको शेर्पा कन्स्ट्रक्सनले अटेर गरेको आरोप उनको छ । काम सम्पन्न भएको तीनदिनमा भुक्तानी दिन्छौं भन्दा पनि ठेकेदार कम्पनि शेर्पा कन्स्ट्रक्सनका फुर्तेम्बा शेर्पाले अटेर गरेको आरोप मण्डलले लगाएका छन् ।
निर्माण कम्पनिले यतिबेला सडकका लागि आवश्यक संरचना निर्माण गरिसकेको छ । अब लगभग साढे १ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको स्थानीयले बताएका छन् । तर, ठेकेदार संस्थाको उदासिनताले त्यो पुरा हुन नसकेको हो । यो सडक पुरा भएको अवस्थामा झापादेखि इलाम जानका लागि चारआली–इलाम भन्दा आधा नै कम्ती दुरी पर्ने बताइएको छ ।
नियमानुसार पुर्वाधार बिकास कार्यालयको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नसक्ने निर्माण कम्पनिलाई कालोसुचीमा राख्छ । कालोसुचिमा परेको फर्मले कम्तिमा दुइबर्ष कुनै सार्वजनिक तथा सरकारी निर्माणमा टेण्डर हाल्न प्रतिबन्ध लाग्ने गरेको छ । ९ करोड हाराहारीको यो सडक समयमा सम्पन्न नगर्दा तीनवटा निर्माण कम्पनि कालोसुचिमा पर्ने लगभग पक्का जस्तै रहेको मण्डलले बताए । उनीहरुलाई कारवाही भएपछि अर्काे ठेक्का निकालेर भएपनि त्यो सडक पुरा गरिछाड्छौं, मण्डलले भने–‘तर, उनीहरुले चाँडै नै बनाउन् भन्ने हाम्रो मान्यता हो ।’
ठेकेदार संस्थामध्ये कञ्चनजंघा निर्माण सेवाका सञ्चालक जनकराज तिम्सिनाले आफ्नु फर्म सबैभन्दा सानो भएको हुनाले पहिलो र दोस्रो फर्मलाई निर्माणकार्य हुन नसकेको बिषयका बारेमा बुझ्न सुझाब दिए । उनले सडक नबनेकोबारे आफुलाई केही थाहा नभएको समेत बताए । शेर्पा कन्स्ट्रक्सनका फुर्तेम्बा शेर्पा भने सम्पर्कमा आउन चाहेनन् ।