बिर्तामोड । दुई वर्षमा निर्माण गर्ने सर्तमा २०७५ असारमा ठेक्का सम्झौता भएको झापाको एउटा सडक हालसम्म पनि निर्माण पूरा भएको छैन । ठेकेदार संस्थाको लापरबाहीका कारण यो सडक निर्माण हुन नसकेको हो । सडक निर्माण नहुँदा शनिश्चरे–खुदुनाबारी हुँदै इलामसम्म जाने यात्रु पीडित भएका छन् । सडक आसपासमा घर हुने स्थानीय त धुलोका कारण झनै समस्यामा छन् ।
२०७५ असार २७ गते शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालापत्रे गर्न ‘डी कञ्चनजङ्घा–शेर्पा–कञ्चनजङ्घा’ जेभीले ठेक्का लिएको थियो । सुरुवातको समयमा सडक निर्माणको काम द्रुत गतिले भए पनि सम्बन्धित निकायले समयमा रकम निकासा नगरेको भन्दै ठेकेदार संस्थाले काम रोकेको थियो ।
सुरुमा ‘र्याप थ्री’ नामको दातासंस्थाले सडक निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । पछि उसले कार्यक्रम ‘फेज आउट’ भएको भन्दै हात झिक्यो । त्यसपछि प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सो सडक बनाउने जिम्मा लियो । मन्त्रालयले समयमा रकम निकासा गर्न आनाकानी गर्दा सडक निर्माण गर्न नसकिएको ठेकेदार संस्थाको दाबी छ ।
९ करोड १० लाख ६ हजार ९ सय ५५ रुपैयाँमा २०७८ असार २६ गते सम्पन्न गर्नुपर्ने गरी सडक निर्माणका लागि ठेक्का लागेको थियो । काम सम्पन्न गरेपछि रकम निकासा हुने सम्झौताअनुसार ठेकेदार संस्थाले ७ करोड १० लाख ८० हजार रुपैयाँ लगेको पूर्वाधार विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । समयमा रकम निकासा नभएको भन्दै काम बन्द गर्दा सो बाटो हुँदै यात्रा गर्ने यात्रु र स्थानीय पीडित बनेका हुन् । यतिबेला कालोपत्रे गरेको सडकसमेत भत्किन थालेको छ ।

‘समयमा काम सक्न हामीले पत्र काट्यौं, फोन गर्यौं, पत्रिकामा सूचनासमेत प्रकाशन गर्यौं’ झापास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेशकुमार मण्डलले भने, ‘अब यी तीनवटै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नका लागि सिफारिस गर्नुको हामीसँग विकल्प छैन ।’ निर्माणको जिम्मा लिएको शेर्पा कन्स्ट्रक्सनले अटेर गरेको आरोप उनको छ । काम सम्पन्न भएको तीन दिनमा भुक्तानी दिन्छौं भन्दा पनि ठेकेदार कम्पनी शेर्पा कन्स्ट्रक्सनका फूर्तेम्बा शेर्पाले अटेर गरेको आरोप मण्डलले लगाएका छन् ।
निर्माण कम्पनीले यतिबेला सडकका लागि आवश्यक संरचना निर्माण गरिसकेको छ । अब लगभग साढे १ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको स्थानीयले बताएका छन् । तर, ठेकेदार संस्थाको उदासिनताले त्यो पूरा हुन नसकेको हो । यो सडक पूरा भएको अवस्थामा झापादेखि इलाम जानका लागि चारआली–इलामभन्दा आधा नै छोटो दूरी हुने बताइएको छ ।
नियमानुसार पूर्वाधार विकास कार्यालयको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नसक्ने निर्माण कम्पनिलाई कालोसूचीमा राख्छ । कालोसूचीमा परेको फर्मले कम्तिमा दुईवर्ष कुनै सार्वजनिक तथा सरकारी निर्माणमा टेण्डर हाल्न प्रतिबन्ध लाग्ने गरेको छ । ९ करोड हाराहारीको यो सडक समयमा सम्पन्न नगर्दा तीनवटा निर्माण कम्पनी कालोसूचीमा पर्ने लगभग पक्काजस्तै रहेको मण्डलले बताए । ‘उनीहरूलाई कारबाही भएपछि अर्काे टेण्डर निकालेर भए पनि त्यो सडक पूरा गरिछाड्छौं’ मण्डलले भने, ‘तर, उनीहरूले चाँडै नै बनाउन् भन्ने हाम्रो मान्यता हो ।’
ठेकेदार संस्थामध्ये कञ्चनजङ्घा निर्माण सेवाका सञ्चालक जनकराज तिम्सिनाले आफ्नो फर्म सबैभन्दा सानो हुनाले पहिलो र दोस्रो फर्मलाई निर्माण कार्यबारे बुझ्न आग्रह गरे । उनले सडक नबनेकोबारे आफूलाई केही थाहा नभएको समेत बताए । शेर्पा कन्स्ट्रक्सनका फुर्तेम्बा शेर्पा भने सम्पर्कमा आउन चाहेनन् ।