विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरणको विषयले बदनाम गराएको बताएका छन् ।
प्रदेश १ सभाको सोमबारदेखि सुरु भएको दशौँ तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
प्रदेशको नामकरणको विषयमा एमालेले नेतृत्व लिनुपर्ने बताए । दुईतिहाइको बहुमत हुँदा निर्णय गर्न नसकेको भए पनि अहिले रहेको बहुमत सांसद् भएको दलको नाताले एमालेले नामकरणको नेतृत्व लिनुपर्ने मुख्यमन्त्री राईले बताए ।
‘प्रदेशको नामको बारेमा सबैभन्दा बढी सांसद् भएको एमालेले पहलकदमी लिनुपर्नेछ’ उनले भने, ‘यदि एमालेले नेतृत्व लिँदैन भने अरू कसैले दायित्व लिएर अरू कुनै दलले वा सांसद्को समिति बनाएर कसैले नेतृत्व लिन्छ भने असाध्यै राम्रो हो ।’

ठूला दलहरूले पहलकदमी र नेतृत्व लिएर सकभर सहमतिमा यदि सहमति नहुँदा बहुमतबाट भए पनि नाम टुङ्गो लगाउन उनले आग्रह गरे । ‘नामको विषयमा बदनाम भएका छौँ’ उनले भने, ‘निधारमा कालो टीका लागेकोले नामको विषयलाई यस अधिवेशनको अन्त्यमा भए पनि टुङ्गो लगाएर जानुपर्छ ।’ मुख्यमन्त्री राईले सरकारले ल्याउने बजेट योजना, नीति कार्यक्रम बनाउने कुरा, मुख्यमन्त्री, मन्त्री, सचिव र केही कर्मचारीले कोठामा मात्र बसेर गर्ने कुराको अन्त्य गर्न खोजिएको उनले बताए ।
राईले हिजो एमाले नेतृत्वको सरकारले गरेका गलत कामको कारण आर्थिक समस्या निम्तिएको सुनाए । ‘पहिले सुरु भएका बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गरिदिएका छौँ । बहुवर्षीय कामलाई अझ सुव्यवस्थित गर्ने योजनाअनुसार बाहिरको कार्यक्रम गर्दा आर्थिक सङ्कट आएको छ’ उनले भने, ‘प्रदेशमा गठबन्धन सरकार आएको सात महिना बितिसक्दा पनि सरकार छ भन्ने कसैलाई आभाष छैन । जनताको सोचमा अब प्रदेश सरकारको विषयमा घडी उल्टो घुम्न बेर छैन ।’
बैठकका एमालेका संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारले कामै गर्न नसकेको भन्दै आलोचना र टिकाटिप्पणी गरे । सरकारले जनमुखी काम नगरेको उनले बताए । पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले स्थानीय तहको चुनावको समयमा गाउँ–गाउँमा जाँदा प्रदेशमा सरकार नै नभएको गुनासो जनताले गरेको बताए ।